२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

प्रतापपुर र पाल्हीनन्दनका अधिकांश अपांगता भएका व्यक्तिहरु आधारभूत अधिकारबाट वञ्चित

२०८१ जेष्ठ २४, बिहिबार प्रकाशित ( महिना अघि) १२० पाठक संख्या

मोहन पौडेल
परासी । पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिहरु आधारभूत अधिकार र मूलप्रवाहबाट वञ्चित रहेको पाईएको छ । दुई पालिकामा अपांगता भएका व्यक्तिहरुको अवस्थाको विषयमा गरिएको घरधुरी सर्वेक्षणको क्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो ।
विशेषगरि गम्भीर प्रकृत्तिका अपांगता भएका व्यक्तिहरु आधारभूत अधिकारबाट वञ्चित रहेका छन् भने राज्यको मूलप्रवाहमा समेत आउन नसकेको पाईएको छ । अपांगता समावेशी विकास परियोजनाले एक वर्ष अघि गरेको सर्वेक्षण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
पश्चिम नवलपरासीको प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा यूनाईटेड मिसन टु नेपालको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रले यो परियोजना सञ्चालन गरिरहेको छ । परासीमा आयोजित एक कार्यक्रममा सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै परियोजनाका बीर बस्यालले फरक क्षमता भएका व्यक्तिहरुलाई अधिकार सुनिश्चित गर्न विशेषगरी स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सर्वेक्षणको क्रममा ८० प्रतिशत अपांगता भएका व्यक्तिले आफूलाई अपांगता भएका व्यक्तिहरुको अधिकारबारे जानकारी नभएको बताएका छन् ।
यी दुई पालिकामा वि.स.२०७८ को जनगणना अनुसार २०८० जना अपांगता भएका नागरिक छन् ।त्यसमध्ये एक हजार ६३८ जनामा परियोजनाले सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागि मध्ये ३ दशमलव २३ प्रतिशतले मात्रै अपांगता सम्बन्धि विभिन्न व्यवसायिक तालिमहरु प्राप्त गरेका छन् । २१ द्यशमलव ३ प्रतिशत अपांगता भएका व्यक्तिहरु मात्र सामुदायिक गतिविधिमा संलग्न रहेको पाईएको छ । सहभागि मध्ये ८६५ जनाले अझै पनि अपांगता परिचय पत्र प्राप्त गर्न नसकेको बताएका छन् । १९ वर्ष भित्रका अपांगता भएका बालबालिका मध्ये ३९ प्रतिशत विद्यालय नजाने गरेको भेटिएको बस्यालले बताउनुभयो ।
यस्तै अपांगता भएका परिवारका १६ दशमलव ६ प्रतिशत बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर छन् । तीस प्रतिशत अपांगता भएका नागरिकसँग आफ्नो नाममा सम्पत्ति छैन् । तीन प्रतिशत मात्र आयआर्जनमा संलग्न छन् । सर्वेक्षणमा सहभागि मध्ये धेरैजसो जन्मिसकेपछि अपांग भएको पाईएको छ । दुर्घटना तथा विभिन्न रोगका कारण अपांगता हुनुपरेको उनीहरुको भनाई थियो । ८२ प्रतिशतले आफ्नो जीवनका क्रियाकलाप गर्न कठिनाई हुने गरेको बताएका छन् । कार्यक्रममा युनाटेड मिसन टु नेपाल नवलपरासी कलस्टरकी टीम लिडर सबु तामाङले जिल्लामा अपांगता भएका व्यक्तिहरुको अवस्था र परियोजनाले गरिरहेका गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष फातिमा खातुन अन्सारी, प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष मानकुमारी चौधरी, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख पुर्ण विश्वकर्मा लगायतले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको परियोजनाका संयोजक सुमन ढुंगानाले बताउनुभयो । अपांगता भएका व्यक्तिहरुको सशक्तीकरणका लागि जिल्लाका यी दुई पालिकामा अपांगता समावेशी विकास परियोजना सञ्चालन गरिएको सुनवल सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक राधा सापकोटा तिमिल्सिनाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस