२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

आधारभूत स्वास्थ्य परियोजनाको सहयोगमा देशकै चौँथो पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका बन्यो रामग्राम

२०८१ जेष्ठ २०, आईतबार प्रकाशित ( महिना अघि) १८४ पाठक संख्या

 बसन्त सापकोटा

नवलपरासी,२० जेठ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देशकै चौथो पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा भएको छ । शनिबार आयोजित एक कार्यक्रमका बिच सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड पूरा गरेको आधारमा रामग्रामलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको हो ।
मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जांच गरेका गर्भवती महिला कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसुति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तिमा ९० प्रतिशत गराएको सुनिश्चतता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागी स्वीकृति दिने व्यवस्था रहेको छ ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले सबै मापदण्ड पुरा गरेको आधारमा रामग्रामलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका  भएको घोषणा गर्नुभएकाे हाे ।
रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकि सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागी निशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण, ग्रामिण भेगमा निशुल्क भिडियो एक्स रे सेवा लगायतका कार्यक्रम गर्देै आएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।
यादवले ग्रामिण भेगका महिलाहरु सदरमुकाम परासी सम्म भिडियो एक्स रेका लागी आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासी बाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रुपमा भिडियो एक्स रे सेवा प्रदान गरेको बताउनुभयाे ।
उहाँले रामग्राम नगरपालिकाले शिक्षा र स्वास्थ्य कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै विगतको तुलनामा शैक्षिक अवस्थामा समेत सुधार आएको दाबी गर्नुभयाे
प्रसुती सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुविधा सम्पन्न प्रसुती सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसुती सेवालाई स्वास्थ्यकर्मिले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दे आएको साथै इन्द्रेणी सामाजिक बिकास मंच र फेयरमेड फाउन्डेसन , नेपाल को साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आज यो अवस्था सम्म आएको नगरपालिकाले जनाएको छ ।
गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयमसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पुर्याउने व्यवस्था पनि नगरपालिकाले गर्देै आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिनुभयाे ।
सो क्रममा प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले पछिल्लो समयमा भित्रि मधेसमा पनि स्वास्थ्यको अवस्थामा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो । उहाँले विकासका काममा जनप्रतिनिधिहरु एक ठाँउमा उभिनुपर्ने बताउदै असन्तुष्टिका बिच पनि सन्तुष्ट हुन सिक्नुपर्नेमा जोड दिनुभयो ।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले सात प्रदेश मध्ये लुम्बिनीमा सुत्केरी हुने क्रममा सबैभन्दा बढि आमाको ज्यान जाने गरेको भन्दै संस्थागत प्रसुती सेवा सुनिश्चित गर्नु महत्वपुर्ण कदम भएको बताउनुभयाे ।
कार्यक्रममा उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी, स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थी, सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी लगायतले घोषणा संगै यसको दिगोपनमा जोड दिन सुझाव दिनुभयाे  ।
सो क्रममा नगरपालिकाले घोषणका लागी सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसकारी संघ संस्था र महिला स्वास्थ्य स्वयमसेविका सहित स्वास्थ्यकर्मिहरुलाई सम्मान गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस