२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

विनोद चौधरी परिवारको विदेशी नागरिकता र पिआर छानविन गर्न पूर्वमन्त्री त्रिपाठीको माग

२०८१ जेष्ठ १३, आईतबार प्रकाशित ( महिना अघि) २८४ पाठक संख्या

मोहन पौडेल
परासी, १३ जेठ । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सांसद एवं अरबपति व्यवसायी विनोद चौधरी परिवारको विदेशी नागरिकता र पिआर छानविन गर्न माग गर्नुभएको छ । चौधरीसहितका पुँजीपति घरानियाहहरु दोहोरो नागरिकताको फाईदा उठाउँदै नेपाली पुँजी पलायन गर्ने बाहक बनिरहेको उहाँको दाबी छ ।
जनता प्रगतिशील पार्टी नवलपरासीले आज परासीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता त्रिपाठीले नेपाली पुँजी निरन्तर पलायन हुँदा अर्थतन्त्र प्रत्यक्ष मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो,“विगत डेढ दशकदेखि पुँजी पलायन तीव्र गतिमा बढिरहेको छ, यहाँका चर्चित घरानिया र उद्योगपति व्यवसायी पुँजी पलायनका बाहक भएका छन् ।”
सरकारले लगानी सम्मेलन गरि विदेशी पुँजी भित्राउन प्रयास गर्ने तर यहाँका घरानिया उद्योगपतिहरुले नेपाली पुँजी पलायन गर्ने कार्यले नेपाली अर्थतन्त्र शिथिल बनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “प्रख्यात उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी र उहाँका परिवारको विदेशी नागरिकताका विषयमा प्रश्न उठेको छु, परिवारका सदस्य मध्ये कसैले गोल्डेन भिषा लिएर बसेको छ, कसैले विदेशमा लगानी गरेका छन्,त्यहाँका नागरिकता सरहको पिआर लिएका छन्, उहाँसहित परिवारका चारै जनाको विदेशी नागरिकता र पिआरको विषयमा छानविन गर्न म नेपाल सरकारसँग जोडदार माग गर्दछु ।”
विनोद चौधरी मात्र नभई सोही प्रकृतिको कार्यमा संलग्न भई अरबौँ पुँजी पलायन गर्ने घरानियाहरुको पनि विदेशी नागरिकता छानविन गर्नुपर्ने उहाँको माग थियो । सरकारले छानविनको प्रक्रिया थालिसकेको सूचना आफूले पाएको बताउँदै नेता त्रिपाठीले भन्नुभयो, “पुँजी लाने बेलामा नेपाली नागरिक हुने, भित्राउने बेला विदेशी नागरिक हुने, त्यो दोहोरो मापदण्डका कारण दुवई, सिंगापुर,पूर्वी युरोपका देशहरु, पश्चिमी एसियाका देशरुमा नेपाली पुँजी गईरहेको छ, नविल बैंकको माध्यमबाट वैधानिक र चोरबाटो अपनाईएको छ, कुनकुन बैंकले यस प्रकारले आफ्नो लाभांशको नाममा नेपालको पुँजी विदेश लगिरहेका छन् त्यसको गहन छानविन गर्नुपर्छ ।”
यस प्रकारको गम्भीर विषय नियन्त्रणमा चासो नदिने हो भने अबको केही वर्षमा मध्यम वर्गका नागरिक मारमा पर्ने त्रिपाठीको दाबी छ । उहाँले सहकारी आन्दोलन पवित्र उद्देश्यले भएपछि पछिल्लो समय देखिएको विकृतीले गम्भीर रुप लिएको भन्दै सबै प्रकारका सहकारी घोटालाको छानविन गर्न आवश्यक रहेको त्रिपाठीले उल्लेख गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस