२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

जिल्लामै सर्वाधिक धन राशिको नवलपरासी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

२०८१ जेष्ठ १३, आईतबार प्रकाशित ( महिना अघि) ७७० पाठक संख्या

मोहन पौडेल
परासी,१३ जेठ । पश्चिम नवलपरासी जिल्लामै सर्वाधिक धन राशी पुरस्कार रहेको नवलपरासी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
यही जेठ १७ गतेदेखि सुनवल नगरपालिका-१३ मा मोफसलका उत्कृष्ट क्लबहरु र ‘ए’ डिभिजन क्लबहरुको सहभागितामा राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता आयोजक राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानले आज भूमहीमा पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो ।
प्रतियोगितामा विजयी हुने टिमले नगद रु ५ लाख ११ हजार पुरस्कार पाउने प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो । उपविजेता टीमलाई रु ३ लाख ११ हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ८ क्लबको सहभागिता रहनेछ । ‘ए’ डिभिजनमा रहेको नेपाल पुलिस क्लब र मोफसलका क्लबहरु हनामी बीएफसी चितवन, सुदूरपश्चिम–११, सहारा क्लब पोखरा,पाल्पा-११, कोहलपुर रेसिङ्ग सहारा क्लब बाँके,नवलपरासी फुटबल संघको प्रतिनिधित्व गर्दै नवलपरासी -११ र आयोजकको प्रतिनिधित्व गर्दै राइजिङ स्टार एफसी बीच नकआउट आधारमा खेल हुने अध्यक्ष पंगेनीले बताउनुभयो ।
प्रतियोगिता जेठ २४ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरिजलाई नगद रु २५ हजार पुरस्कार प्रदान गरिनेछ भने फरक फरक विधाका ५ जनालाई रु दस हजारका दरले एवं प्रत्येक दिन म्यान अफ द म्याचलाई रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने पंगेनीले बताउनुभयो। प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख खर्च हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेश सरकारबाट रु दस लाख प्राप्त हुनेछ भने प्रायोजन र अन्य सहयोगबाट रकम सङ्कलन हुने आयोजकले जनाएको छ ।
जिल्लामा नवलपरासी गोल्ड कपको नामले पहिलोपटक राष्ट्रियस्तरको खेल प्रतियोगिता सञ्चालन हुँदा स्थानीय खेलाडीलाई ठुला प्रतियोगितामा भाग लिने अवसर समेत प्राप्त भएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंले बताउनुभयो । प्रतियोगिताको लागि आवश्यक पूर्व तयारी करिब सकिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिता सहिद स्मृति रंगशाला सुनवल-१३ मा सञ्चालन हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।  प्रतिष्ठानले आजै खेल तालिका पनि सार्वजनिक गरेको छ । प्रतिष्ठानका सचिव धर्मेन्द्र अग्रहरीका अनुसार जेठ १७ गते आयोजक नवलपरासी -११ र हनामी बीएफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ भने जेठ १८ गते राइजिङ स्टार एफसी नवलपरासी र पाल्पा-११ बीच प्रतिस्पर्धा हुनेछ ।
जेठ १९ गते नेपाल पुलिस क्लब र कोहलपुर रेसिङ्ग सहारा क्लबबीच तथा जेठ २० गते सुदुरपश्चिचम -११ र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । जेठ २१ र २२ गते सेमिफाइनल चरणका खेल सम्पन्न हुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%७%१%

प्रतिक्रिया दिनुहोस