२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका करिब २२ हजार बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाईने

२०८१ जेष्ठ ९, बुधबार प्रकाशित ( महिना अघि) १२१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ जेठ । पश्चिम नवलपरासीमा खोप लगाउन छुटेका २१ हजार ८७७ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाईने भएको छ । जिल्लाका सात वटै स्थानीय तहमा दुई चरणमा गरि खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
वि.स.२०७३ वैशाखदेखि २०७५ साल असोजसम्म उक्त खोप लगाउन छुटेका पाँच वर्षदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई आईपिभी खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
जिल्लाको सुनवल र रामग्राम नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकामा यही जेठ १३ देखि १८ गतेसम्म तथा बर्दघाट नगरपालिका, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा जेठ २१ देखि २६ गतेसम्म खोप लगाउने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । खोप अभियान सञ्चालनका लागि जिल्लाभर २९६ खोप केन्द्र निर्धारण गरिएको छ भने ३१५ जना स्वास्थ्यकर्मी र ४१० जना स्वयमसेवक परिचालन गरिनेछ ।
पालिका अन्तरगतका विद्यालयहरुमा खोप केन्द्र सञ्चालन गरि खोप लगाईने स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनुभयो । उहाँका अनुसार बर्दघाट नगरपालिकामा ५७,सुनवल नगरपालिकामा ५०,रामग्राम नगरपालिकामा ४८,पाल्हीनन्दनमा ४१,सरावलमा २८,प्रतापपुरमा ४२ र सुस्ता गाउँपालिकामा ४० वटा खोप केन्द्रहरु निर्धारण गरिएको छ । नेपालमा आईपिभी खोप सेवा २०७१ सालदेखि शुरु गरिएको थियो ।
तर २०७३ जेठ देखि २०७५ भदौसम्म यो खोप अभाव थियो । उक्त अवधिमा जन्मिएका र यो खोप लगाउन छुटेका बालबालिकाहरुमा पोलियो लाग्ने जोखिम रहेकोले ती बालबालिकालाई आईपिभी खोप लगाउन जरुरी रहेको पन्थीले जानकारी दिनुभयो ।
खोप अभियान सञ्चालनका लागि आवश्यक पूर्व तयारी करिब सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले खोप लगाउन छुटेका देशभरका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई लक्षित गर्दै पोलियो विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्न लागेको हो । नेपालले सन् २०१४ मै पोलियो मुक्त देशको रुपमा प्रमाणपत्र पाईसकेको छ । तर दक्षिण एसियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएकोले नेपालमा जोखिम कायमै रहेकोले खोप अभियान सञ्चालन गरिएको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस