२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आदर्श नमूना मावि परासीमा बिज्ञान भवन शिलान्यास, आगामी वर्षदेखि विज्ञान संकाय पढाई हुने

२०७८ मंसिर ९, बिहिबार प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

परासी, ९ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पूरानो विद्यालय आदर्श नमूना माध्यमिक विद्यालयमा विज्ञान भवनको शिलान्यास गरिएको छ । नमूना विद्यालयको रुपमा स्थापित गर्न उक्त विद्यालयमा विज्ञान संकाय सञ्चालन गर्न लागिएको र त्यसका लागि भवन निर्माण थालिएको हो ।
संघीय सरकारको नमूना विद्यालय विकास कोषको सहयोगमा निर्माण हुने तीन तले नौ कोठे भवनको आज एक समारोहकाबीच रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले शिलान्यास गर्नुभयो । उहाँले विज्ञान संकाय सञ्चालनका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
नगर प्रमुख गुप्ताले भौतिक पूर्वाधारमा मात्र जोड नदिई शैक्षिक गुणस्तरमा पनि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको विद्यालयको पूरानो भवनको नगरपालिकाले रंगरोगन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मी, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय प्रमुख डोलराज पाण्डे, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष यार मोहम्मद खान लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु गरिएको विज्ञान भवनका लागि रु एक करोड ९७ लाख बजेट विनियोजन भएकोमा जे ओ कन्स्ट्रक्सन रुपन्देहीले रु एक करोड २७ लाखमा निर्माणको जिम्मा लिएको आदर्श माविका प्रधानाध्यापक अरविन्द पाठकले जानकारी दिनुभयो ।
विद्यालयलाई नमूना बनाउने गरी आगामी वर्ष देखि कक्षा ११ मा विज्ञान कक्षा सञ्चालन गरिने बताउँदै उहाँले विज्ञान र कानून विषयको अनुमति प्राप्त भईसकेको बताउनुभयो । नमूना विद्यालय विकास कोषबाट विद्यालयलाई प्रत्येक वर्ष करिब डेढ करोड बजेट प्राप्त हुने विद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस