२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) ११३२ पाठक संख्या

मोहन पौडेल
परासी, १४ कात्तिक । सुनको गरगहना चोरी गरेको अभियोगमा चोरीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गरगहना लुटेर भागेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीबाट चोरीमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
बर्दघाट नगरपालिका–११ लण्डनब्रिज स्थित भित्रीसडकमा पैदर हिँडिरहेकी एक महिलाको घाँटीमा लगाएको सुनको सिक्री मोटरसाईकलमा सवार अपरिचित व्यक्तिहरुले लुटेर भागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट प्रहरी खटाई सोधपुछ र जाँच बढाई चोरीमा संलग्नको खोजी गरिएको थियो।
पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१३ का २४ वर्षीय अजय केवट र सुनवल नगरपालिका–१२ बस्ने देवराज यादव रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
पक्राउ परेका युवाहरुको साथबाट सुनको सिक्री दुई थान, मोबाईल दुई थान, विभिन्न बैङ्कका भौचर दुई थान, पर्स तथा उनीहरुले प्रयोग गरेको लु ७४ प ४५०८ नम्बरको मोटरसाईकल बरामद गरेको छ ।
बरामद गरिएका गहना मध्ये एक थान कात्तिक ९ गते बर्दघाट नगरपालिका–१३ धनेवाबाट सोही स्थान निवासी ३८ वर्षीय विष्णु चापागाईबाट र अर्काे एक थान कात्तिक १३ गते बर्दघाट–११ लण्डनब्रिज स्थित भित्री सडक खण्डमा सोही स्थान वस्ने ५८ वर्षीय लक्ष्मीदेवी भट्टराईको साथबाट चोरी गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई चोरी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भईरहेृको प्रहरीले जनाएको छ । उनीहरुले नेपाली नम्बर प्लेटको मोटरसाईकलमा भारतीय नम्बर प्लेटको स्टीकर टाँसी सडक तथा सार्वजनिक स्थानमा हिँडडुल गर्ने महिलाले लगाएका सिक्री लगायत गरगहना जबरजस्ती तानेर चोरी गर्ने र केही पर पुगेपछि भारतीय नम्बर प्लेटको स्टीकर फाल्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक मनोज यादवले बताउनुभयो ।
चोरी गरेका गरगहना श्रीमती विरामी भएको तथा दाईजो पाएको भनि नजिकका सुन पसलमा बिक्री गर्ने गरेको खुलेको छ । चाडपर्वको समयमा यस किसिमका अपराधिक घटना बढ्ने भन्दै प्रहरीले अनावश्यक गरगहनाको प्रयोग नगर्न आग्रह गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस