२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

निःशुल्क रगत उपलब्ध गराउँदै रेडक्रस, बिरामीलाई सहज

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

मोहन पौडेल/ रासस
परासी,१४ कात्तिक – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रक्तसञ्चार सेवा पाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
रेडक्रस र जिल्लाका सातै वटै स्थानीय तहबीच आफ्नो पालिका भित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरी रगत उपलब्ध गराईएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो। जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षर गरिएका स्थानीय तहका नागरिकले रगतको लागि अब शुल्क तिर्न नपर्ने उहाँले बताउनुभयो । “नागरिकता र अस्पतालको सिफारिस पत्रको आधारमा बिरामीलाई हामीले निःशुल्क रगत उपलब्ध गराउँदै आएका छौँ, त्यसवापतको रकम सम्बन्धित स्थानीय तहले रेडक्रसलाई भुक्तानी गर्छन्”, सभापति अग्रहरीले भन्नुभयो ।
जिल्लामा रेडक्रसले सञ्चालन गरिरहेको रक्तसञ्चार केन्द्रमा १०० प्रिन्टसम्म रगत जम्मा गर्ने क्षमता छ । तर जिल्लामै सबै रगत खपत हुँदैन् । जिल्लामै सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, भेरहवा र भरतपुरका अस्पतालहरुमा रगत पठाउने गरिएकोमा पछिल्लो समय जिल्लाकै अस्पतालहरुमा रगतको खपत बढ्न थालेको रेडक्रसका वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ताले बताउनुभयो ।
स्थानीय तह र रेडक्रसको समन्वयमा निःशुल्क रगत उपलब्ध हुन थालेपछि बिरामीको उपचारमा थप सहज भएको रामग्राम–४ का अर्जुनबहादुर क्षेत्रीले बताउनुभयो । “पहिला हामी आफैले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो, तर अहिले नगरपालिकाले रकम भुक्तानी गर्न थालेपछि हामीले सहज र सुलभ रुपमा रगत पाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।
रामग्राम–५ की माया अग्रहरीले निःशुल्क रगत पाउन थालेपछि सहज महशुस भएको बताउनुभयो । “यो अत्यन्त राम्रो थालनी हो, यसलाई हरेक वर्ष निरन्तरता दिनुपर्दछ, नगरपालिका÷गाउँपालिकाहरुले यसको लागि प्रत्येक वर्ष बजेट विनियोजन गरिदिए हामी नागरिकलाई सहज हुनेछ”, उहाँले भन्नुभयो ।
रेडक्रसले रगत र रक्तदानको महत्व बुझाउन गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको छ । विशेषगरी भारतीय सीमासँग जोडिएका दक्षिणी क्षेत्रका नागरिकमा रक्तदानको महत्वको विषयमा जनचेतना नहुँदा त्यस क्षेत्रका नागरिकले रक्तदान गर्न नमान्ने गरेको सभापति अग्रहरी बताउनुहुन्छ । सम्बन्धित स्थानीय तहसँगको समयन्वयमा अव वडा वडामा यस विषयमा सचेतना गोष्ठिहरु सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस