२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

थारु समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सरावलमा सङ्ग्रहालय स्थापना

२०७८ कार्तिक १४, आईतबार प्रकाशित ( साल अघि) ८६७ पाठक संख्या

मोहन पौडेल/रासस
परासी, १४ कात्तिक – आदिवासी थारु समुदायको परम्परागत सस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा थारु सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारु सङ्ग्रहालय स्थापना गरिएको हो ।
सङ्ग्रहालयको लागि रु ७० लाखको लागतमा भवन निर्माण गरिएको छ । सरावल गाउँपालिका, पूर्वमन्त्री गोपाल दहितको सांसद विकास कोष, साविक जिविसको सहयोग तथा श्रमदानबाट थारु मिलन केन्द्र तथा सङ्ग्रहालय भवनको निर्माण गरिएको थारु कल्याणकारीणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले राससलाई जानकारी दिनुभयो ।
“यो जिल्लाकै पहिलो थारु सङ्ग्रहालय हो, यहाँ हाम्रो लोप हुन लागेको परम्परागत भेषभुषा, रीतिरिवाज, रहनसहन, सस्कृति, पहिचान झल्कीने सामग्रीहरु राखिनेछ, यसबाट थारु समुदायको सस्कृति संरक्षण हुने र पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।
सङ्ग्रहालयमा एक महीना भित्र थारु संस्कृति झल्काउने सामग्रीहरु हलो, जाँतो, कुटो, कोदालो, ढिकी, खल, जाल, परम्परागत थारु पहिरन लगायत अवलोकन गर्न सकिने अध्यक्ष चौधरीले बताउनुभयो । थारु भाषामा प्रकाशित पुस्तकहरु पनि सङ्ग्रहालयमा राखिएको छ ।
सङ्ग्रहालय भवनको उद्घाटन गर्दै पूर्वमन्त्री गोपाल दहितले थारु समुदायको पहिचान र ऐतिहासिकता संरक्षणमा सङ्ग्रहालयले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । थारु संस्कृति संरक्षण गर्न नयाँ पुस्तालाई परम्परागत लोक संस्कृति, रीतिरिवाज,पहिरन तथा सामग्रीहरुको बारेमा अध्ययन अवलोकन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले विसं.२०६६ सालबाट शुरुवात गरी थोरै थोरै रकम जुटाएर अहिले सङ्ग्रहालय स्थापना गर्न सफल भएको बताउनुभयो । गाउँपालिकाले शुरुदेखि नै बजेट सहयोग गर्दै आएको र यसवर्ष पनि सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालनका लागि रु पाँच लाख विनियोजन गरेको जानकारी दिनुभयो ।
सङ्ग्रहालयमा राखिने थारु सामग्रीको अध्ययन अवलोकनबाट लोप हुने अवस्थामा पुगेको थारु संस्कृतिको ज्ञान हुने, जीवनशैली बुझ्न सजिलो हुनुका साथै पर्यटकीय केन्द्रको रुपमा पनि यो स्थल विकास हुने उहाँले बताउनुभयो । थारु जातिको बाहुल्यता रहेको स्थल सरावलमा थारु सङ्ग्रहालय हुनु गौरवको विषय भएको बताउँदै उहाँले पूर्वपश्चिम राजमार्ग नजिकै रहेकोले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस