२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बाढीका कारण रामग्राममा रु आठ करोड बढीको भौतिक संरचनामा क्षति

२०७८ कार्तिक १३, शनिबार प्रकाशित ( साल अघि) ६७४ पाठक संख्या

परासी, १३ कात्तिक – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा गत भदौमा आएको बाढीका कारण रु आठ करोड बढीको भौतिक संरचनामा क्षति पुगेको छ । भदौ ११ गते आएको बाढीले सदरमुकाम परासी बजार पूर्ण रुपमा डुबानमा परेको थियो भने पक्की र कच्ची घर तथा गोठ पूर्ण र आंशिक रुपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पूर्ण रुपमा क्षति पुगेका संरचनालाई रु २५ हजार, आंशिक क्षति पुगेकालाई रु दश हजार र गोठको क्षतिलाई रु ५ हजारको दरले राहत उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बाढीका कारण पूर्ण रुपमा २५ वटा भोैतिक संरचना र ४ वटामा आंशिक क्षति पुगेका छ ।
सबैभन्दा बढी वडा नं. १७ मा रु एक करोड २८ लाख, वडा नं ९ मा रु ९८ लाखको क्षति पुगेको नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम भौतिक संरचनामा क्षति पुगेका वडाहरुमा वडा नं. १० मा रु दुई लाख ७८ हजार र वडा नं. ५ मा रु तीन लाख ४३ हजार रहेको छ । अन्य वडाहरुमा रु पन्ध्र लाख देखि ७४ लाखसम्म गरी कुल रु आठ करोड ३१ लाख रुपैयाँको क्षति पुगेको नगर प्रमुख गुप्ताले बताउनुभयो ।
“सङ्कलन भएको क्षतिको विवरणसहित जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरी पठाएका छौँ, स्थानीय तहबाट क्षमता अनुसारको राहत दिन्छौँ”, उहाँले भन्नुभयो । नगरपालिकामा पर्ने झरही र रावणखण्डा खोलाका कारण बाढी पसेको थियो। नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी उक्त दुवै खोलालाई सफा गरी आगामी दिनमा बाढीको जोखिम न्यूनीकरण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
यसैगरी केही दिन अघि परेको वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण पनि सङ्कलन गर्न शुरु गरिएको नगर प्रमुख गुप्ताले बताउनुभयो । वर्षाबाट धानबालीमा क्षति व्यहोरेका पीडित कृषकलाई राहत स्वरुप गहुँमा अनुदान दिने नगरपालिकाले जनाएको छ ।
त्यसका लागि रु ३६ लाख बराबरको ५० मेट्रीक टन गहुँको बिउ खरिद गर्न लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । कात्तिकको अन्तिम सातादेखि वितरण गरिने गहुँको बिउमा कृषकले पचास प्रतिशत रकम व्यहोर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस