२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

कृषि मन्त्री रायमाझीको बाढी प्रभावित नवलपरासीका कृषकसँग प्रतिबद्धता : यसपालि निराश बनाउँदिन

२०७८ आश्विन २, शनिबार प्रकाशित ( साल अघि) ७४४ पाठक संख्या

मोहन पौडेल
परासी, २ असोज । लुम्बिनी प्रदेशकी कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले नवलपरासीका बाढी प्रभावित कृषकसँग डुबान समस्या समाधान र राहतको विषयमा निराश हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
वर्षौंदेखि डुबानको समस्या भोग्दै आएका कृषकहरुले पटकपटक मन्त्रीहरु निरीक्षणमा आएर आश्वासन दिने तर कृषकको पक्षमा कुनै पहल नगर्ने गरेको गुनासो गरेपछि मन्त्री रायमाझीले यश पटक प्रदेश सरकारको तर्फबाट केही न केही कार्यक्रम ल्याउने बताउनुभएको हो ।
बाढीबाट कृषि बालीमा भएको क्षतिको निरीक्षण गर्न पश्चिम नवलपरासी आउनुभएकी कृषि मन्त्री रायमाझीले परासीमा कृषक हकहित संरक्षण मञ्च नवलपरासीले गरेको स्वागत कार्यक्रममा बोल्दै उक्त कुरा गर्नुभएको हो ।
उहाँले वास्तविक र साना तथा महिला कृषकलाई लक्षित गरि अनुदानका कार्यक्रम ल्याउने जानकारी दिनुभयो । ठुला किसानलाई भन्दा साना कृषकलाई उत्थान गर्न जरुरी रहेको उहाँको भनाइ थियोे ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख देवेशकुमार मिश्राले बाढीका कारण जिल्लाको सरावल र पाल्हीनन्दन गाउँपालिकाका कृषकले लगाएको बालीमा ठूलो क्षति पुगेको जानकारी दिनुभयो ।
भदौ १० गते राति आएको बाढी कृषि ज्ञान केन्द्रको कार्यालयमा समेत पसेर कार्यालयमा रहेका महत्त्वपूर्ण कागजात, फर्निचर,कम्प्युटर,कर्मचारी क्वाटर लगायतमा क्षति पुगि काम नलाग्ने अवस्थामा पुगेकाले कार्यालयको पुनः उत्थानमा सहयोग गर्न उहाँले मन्त्री रायमाझीको ध्यानाकर्षण गराउनुभयो ।
कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले वर्षेनी बाढीले गर्दा जिल्लाका कृषकहरूले ठुलो क्षति व्यहोर्नुपरेको तर अहिलेसम्म सरकारले कुनै किसिमको राहत वा डुबान समस्या समाधानको पहल नगरेको भन्दै आश्वासन नभई काम गरेर देखाउन मन्त्री रायमाझीको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री रायमाझीले आज कृषि ज्ञान केन्द्र परासी,पाल्हीनन्दनको शंकरपुर र सरावलको वडा नं. ६ र ७ मा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस