२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीको बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री यादवले भन्नुभयो- डुबान समस्या समाधानको पहल गर्छु

२०७८ भाद्र ५, शनिबार प्रकाशित ( साल अघि) १५१३ पाठक संख्या

मोहन पौडेल
परासी, ५ भदौ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले पश्चिम नवलपरासीस्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । प्रदेशमा गठबन्धनको नयाँ सरकार बनेपछि भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएका यादवले आज पहिलोपटक नवलपरासीको बाढी प्रभावित क्षेत्र पाल्हीनन्दनको शंकरपुर, गडौरी, रम्पुरवा, मुडेरा, सुनरी लगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै त्यहाँको समस्याको बारेमा जानकारी लिनुभएको हो ।
जसपा नेपालका नेता समेत रहनुभएका मन्त्री यादवले उक्त क्षेत्रमा बाढीका कारण स्थानीयले वर्षाैँदेखि पीडा भोग्दै आएको पाएको भन्दै यहाँको समस्या समाधानका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताउनुभयो । सयौँ खेतीयोग्य जमिन डुबानमा परेको कारण कृषकले दुःख पाएको उहाँले बताउनुभयो ।
झरही नदीको उत्खनन्, तटबन्ध निर्माण, कुलो मर्मत, कल्भर्ट निर्माण गर्नुपर्ने देखिएकोले आफूले आफ्नो मन्त्रालय र अन्य मन्त्रालयसँग समेत समन्वय गरेर समाधानको पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कृषकलाई राहत दिने विषयमा पनि सक्दो पहल गर्ने उहाँले जानकारी दिनुभयो ।
निरीक्षणपछि परासीमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले प्रदेशको नवगठित सरकारले छिट्टै विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने बताउनुभयो । उहाँले पूर्ववर्ती सरकारले अध्याधेशमार्फत ल्याएको बजेटमा पुनःविचार हुने बताउनुभयो । क्रमागत ठूला आयोजनालाई निरन्तरता दिने तर टुक्रे योजनाहरु हेरफेर गरिने उहाँले बताउनुभयो । जम्बो मन्त्रीपरिषद् बनाउने हल्ला निराधार रहेको उहाँको भनाई थियो ।
प्रतिपक्ष एमालेले प्रदेशसभा अवरुद्ध गरिरहेकोा कुरालाई संकेत गर्दै मन्त्री यादवले एमालेले कारवाही गरेका प्रदेशसभा सदस्यहरुको कारवाही प्रक्रिया कानून अनुसार अघि बढाउने भएकोले संसदलाई बन्धक बनाउन नहुने बताउनुभयो । उक्त अवसरमा पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव, प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, जनप्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%

प्रतिक्रिया दिनुहोस