२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एकपक्षीय रुपमा थपघट गरेका क्रियाशिल सदस्यको नाम मान्य हुँदैन – कांग्रेस क्षेत्रीय समिति

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

परासी, १७ साउन । पश्चिम नवलपरासी जिल्लाका केही वडाहरुमा क्रियाशिल सदस्यहरुको नामावली केन्द्रबाट एकपक्षीय रुपमा थपघट गरिएको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ ।
संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्र कुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्य समिति२(२) का सभापति दिनेश मणि पटेलले आइतबार विज्ञप्ति निकालेर प्रकृया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताहरुको दबाबमा केन्द्रमा थपघट गरेको आरोप लगाउनुभएको छ।
रामग्राम नगरपालिकाको वडा नं. ३, १५,१६ र पाल्हीनन्दन गाउँपालकाको वडा नं. ४ मा सदस्यता सम्बन्धी वडा स्तरबाटै विवाद उत्पन्न भएकोले केन्द्रमा गठित छानविन समितिको प्रतिवेदनले समेत उक्त वडाहरुमा नयाँ सदस्यता थप नगरी १३ औं महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिइएको तर अधिवेशन आफू अनुकुल बनाउन जिल्लाका केही नेताहरुले नामावली थपघट गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
छानविन समितिले टुंगो लगाउन नसकेका नामावलीहरु अहिले केन्द्रीय पदाधिकारीहरुलाई जिम्मा दिइएको र नाम थपघट गर्दा अधिवेशन नै प्रभावित हुने भएकाले त्यसलाई रद्द गरी समितिले बुझाएको रायलाई मान्यता दिन उहाँहरूको  माग छ ।

अन्य पालिकाहरुका केही वडाहरुमा पनि एकपक्षिय रुपमा नामावली थप घट गर्ने, पोष्टिङ्ग भइसकेका नाम झिकेर आफू अनुकुलका व्यक्तिहरुको नाम राख्ने कार्य भइरहेकोले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीहरुलाई ध्यानआकर्षण गराउँदै विज्ञप्तीमा त्यस्ता नामावलीहरु रद्द गर्न विज्ञप्तीमा माग गरिएको छ ।
जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशिल सदस्यहरुको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ ।
जिल्लामा कांग्रेसका २ समुह छन् । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुन कुमार पोखरेल र केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समुहबाट मोहन शर्माको नाम चर्चामा छ । पोखरेल वर्तमान जिल्ला उपसभापति हुनुहुन्छ भने शर्मा शिक्षक संघ नवलपरासीका पूर्वअध्यक्ष हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस