२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बहुक्षेत्रीय पोषण कार्यक्रमको जिल्ला स्तरीय अनुगमन

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) ११६७ पाठक संख्या

परासी, २७ असार । पश्चिम नवलपरासीमा सञ्चालित बुहक्षेत्रीय पोषण कार्यक्रमको जिल्ला स्तरीय अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लाका चार स्थानीय तहमा कार्यक्रमको प्रभावकारीताको विषयमा अनुगमन गरेको हो ।
कार्यक्रम भने सातै स्थानीय तहमा लागू छ । विशेषगरी सुनौला हजार दिनका आमाहरु र बच्चाहरुको पोषण सुधारमा केन्द्रित यस कार्यक्रमका गतिविधि र उपलब्धीका विषयमा अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाको वडा नं. ७ उजैनी, प्रतापपुर गाउँपालिकाको वडा नं. ७ पर्सा, सुस्ता गाउँपालिकाको वडा नं. १ फेनहरा थारु टोल र सुनवल नगरपालिकाको वडा नं. २ बत्रौली टोलमा उक्त कार्यक्रमको अनुगमन गर्दै लक्षित वर्गसँग अन्र्तक्रिया गरिएको थियो । कार्यक्रम प्रभावकारी नै देखिएको र केही सुधार गर्नुपर्ने पनि आवश्यकता रहेको जिसस प्रमुख रायले बताउनुभयो ।
दिगो विकासका लक्ष्यहरु मध्ये प्रत्यक्ष रुपमा पाँच वटा लक्ष्यसँग सम्बन्धित यस कार्यक्रमबाट सुनौला हजार दिनका आमा र बच्चाहरुको पोषणमा सुधार ल्याउने र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको बताउँदै कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक भुमि शर्माले प्रदेशले कार्यक्रम सञ्चालनमा स्थानीय तहलाई सहजीकरण, नीति निर्माण तथा पृष्ठपोषणमा सहयोग गर्दै आएको बताउनुभयो ।
अनुगमन टोलीमा जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार, जिल्ला समन्वय अधिकारी प्रेम प्रसाद आचार्य, शाखा अधिकृत ऋषिकेश रेग्मी, लेखा प्रमुख विष्णु पौडेल, प्रदेश योजना आयोगस्थित बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक भुमि शर्मा, सञ्चारकर्मी, स्थानीय सहजकर्ता, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको जिससका दयाराम चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस