

मोहन पौडेल
परासी, १७ चैत । निर्माणाधीन बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा सवारी आवागमन सहज बनाउँदै निर्माण कार्यको गति बढाउन पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सक्रियता देखाउनुभएको छ । उक्त क्षेत्रमा सडक विस्तारको काम जारी रहेकोले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको अत्यन्तै संवेदनशील मानिने दाउन्ने खण्डका दाउन्ने बजार, घिउखोला र विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा वर्षायामसँगै सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकी बीचमै रोकिने समस्या बढ्दो छ। त्यससँगै अव्यवस्थित ओभरटेक र लेन अनुशासनको अभावले बारम्बार सवारी जाम निम्त्याउँदै आएको छ। जसले गर्दा विशेषगरी सात किलोमिटर क्षेत्रको सडकको हिलो, चिप्लो र खाल्डाखुल्डीका कारण दैनिक घण्टौँ जाम, सवारी दुर्घटना र सवारी विग्रने समस्याले विगत सात वर्षदेखि यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।
नारायणगण्–बुटवल सडक योजना कार्यालय दाउन्ने पश्चिमका आयोजना प्रमुख, निर्माण कम्पनीका प्रतिनिधि, ट्राफिक प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिसहित दाउन्ने क्षेत्रको अनुगमनमा पुग्नुभएका प्रजिअ नेपालले समस्या समाधानका लागि तत्कालै पहल थाल्न निर्देशन दिनुभयो। उहाँले लेन अनुशासनलाई कडाइका साथ लागू गराउन, ओभरलोड सवारीसाधनको आवागमन नियन्त्रण गर्न र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।
साथै, वर्षायाममा अत्यधिक चिप्लिने स्थानहरूमा तत्काल ग्राभेल हालेर सवारी आवागमन सहज बनाउन र निर्माण कार्यमा भइरहेको ढिलाइ अन्त्य गर्न थप जनशक्ति परिचालन गरी कामलाई तीव्रता दिन आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ नेपालले जानकारी दिनुभयो । दाउन्ने खण्डमा ओभरलोड मालबाहक सवारीका कारण आवागमनमा असहज भइरहेको भन्दै प्रजिअ नेपालले तिलकपुर धर्मकाँटामा समेत अनुगमन गरी ओभरलोड मालबाहक सवारीलाई जरिवानासहित कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
दाउन्ने खण्ड दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको सुस्त कार्यशैली र न्यून जनशक्तिका कारण लक्ष्यप्राप्तिमा चुनौती देखिएको छ। प्रजिअ नेपालको सक्रियताले निर्माण कार्यले गति लिने र यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ। दाउन्ने पश्चिम आयोजना प्रमुख पशुपति ज्ञवालीले बैशाख महिना भित्र दाउन्ने खण्डको एकतर्फी निर्माण सम्पन्न हुने दाबी गर्नुहुन्छ ।
बुटवल–नारायणगढ सडक विस्तार र स्तरोन्नतिको काम साढे ३ वर्षमा अर्थात २०७९ सालको साउन महिनामा सक्ने गरी २०७५ माघ २४ गते सम्झौता भएको थियो तर तीन पटक म्याद थपिएको समयभित्र पनि काम नसकिएपछि चौथो पटक २०८३ साउन पहिलो हप्तासम्म म्याद थपिएको छ ।
