२०८२ चैत्र १६, सोमबार
24 खबर अपडेट

रास्वपा पश्चिम नवलपरासीद्वारा प्रजिअ नेपालको ध्यानाकर्षणः सेवा सुधारदेखि अवैद्य असुली नियन्त्रण गर्न माग

२०८२ चैत्र १६, सोमबार प्रकाशित ( घण्टा अघि) ९५ पाठक संख्या

परासी, १६ चैत । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीले जिल्ला प्रशासनसमक्ष सेवा प्रवाह सुधारदेखि अवैध गतिविधि नियन्त्रणसम्मका विषयमा ध्यानाकर्षण गराएको छ।
पार्टीका कार्यबाहक जिल्ला सभापति रबी पाण्डेयको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग भेटघाट गर्दै जिल्लास्थित सरकारी सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउन माग गरेको हो। टोलीले सेवामा देखिएको बिचौलिया प्रथाको अन्त्य गर्दै सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न प्रशासनलाई आग्रह गरेको छ।
त्यसैगरी जिल्लाका विभिन्न नदी तथा खोलामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको र सीमा क्षेत्रमा बढ्दो अवैध तस्करी—विशेषगरी कुखुरा र अण्डा—नियन्त्रण गर्न पनि प्रशासनको ध्यानाकर्षण गराइएको सभापति पाण्डेयले बताउनुभयो ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग जग्गा नापजाँचको नाममा अवैध रकम असुली भइरहेको गुनासोसमेत उठाइएको थियो । यस्तो कार्य तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न रास्वपाले माग गरेको छ।
प्रमुख जिल्ला अधिकारी नेपालले सेवा प्रवाहलाई सहज र छिटो छरितो बनाउन प्रशासन कडा रुपमा लागेको बताउँदै चोरी तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस