२०८२ चैत्र १२, बिहिबार
24 खबर अपडेट

विद्या सागर प्रसिद्ध इङलिस बोर्डिङ स्कुलले पायो अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड(आइएसओ) चिन्ह

२०८२ चैत्र १२, बिहिबार प्रकाशित ( घण्टा अघि) १३० पाठक संख्या

मोहन पौडेल
परासी, १२ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टास्थित विद्या सागर प्रसिद्ध इङ्लिस बोर्डिङ स्कुलले अन्र्तराष्ट्रिय गुणस्तर मापदण्ड(आइएसओ) चिन्ह(लोगो) प्राप्त गरेकोे छ ।  अन्र्तराष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह प्राप्त गर्ने विद्या सागर सुनवल नगरकै पहिलो विद्यालय बनेको छ ।
विहीबार विद्यालयमा आयोजित भव्य समारोहमा ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रमुख सुदीप शर्माले अन्र्तराष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । ग्लोबल क्वालिटी काउन्सिल गुणस्तर मापदण्ड सम्बन्धि विश्ववापी छाता संगठन अन्र्तराष्ट्रिय गुणस्तर काउन्सिलबाट सम्बन्धन प्राप्त निकाय हो ।
अन्र्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तरका लागि आइएसओ काउन्सिलले निर्धारण गरेको मापदण्ड मध्ये ३० प्रतिशत पूरा गरेपछि विद्या सागर प्रसिद्ध इङ्लिस बोर्डिङ स्कुललाई ग्लोबल मापदण्डको आधारमा आइएसओ चिन्ह प्रदान गरिएको काउन्सिलका नेपाल प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अन्र्तराष्ट्रिय गुणस्तर मादपण्डको प्रमाणपत्र प्राप्त गर्न भने शतप्रतिशत अर्थात ५१ वटा सूचक पूरा गर्नुपर्दछ ।
“आइएसओ चिन्ह पाएपछि प्रमाणपत्र प्राप्त गर्न तीन वर्ष भित्र सबै मापदण्ड पूरा गर्नुपर्दछ”, उहाँले भन्नुभयो,“अन्र्तराष्ट्रिय स्तरको शैक्षिक वातावरण,सिकाइ र अन्र्तराष्ट्रिय स्तरका व्यवहारका कुराहरु संस्कारसहितको विद्यार्थी, संस्कारसहितको अभिभावक र संस्कारसहितको शिक्षक भन्ने उद्द्घोषका साथ अन्र्तराष्ट्रिय गुणस्तर प्रमाणित संस्थाले गाइड गरेको यो विद्यालय तपाइहरुको टोल छरछिमेकमा पाउनुभएको छ, तपाइहरु बधाइका पात्र हुनुहुन्छ ।”
विद्यालयको भौतिक संरचनाको सुधार, कक्षाकोठा भित्रको शैक्षिक गुणस्तर, शिक्षक र कर्मचारीको क्षमता अभिवृद्धिसहित अन्र्तराष्ट्रिय विधि प्रयोग गरेर यो विद्यालय अघि बढेको बताउँदै काउन्सिलका नेपाल प्रमुख शर्माले विद्यालय परिवर्तन गर्ने हुटहुटीका साथ लागेको नेतृत्वको कारण निर्धारित समय अगावै यस विद्यालयले अन्र्तराष्ट्रिय गुणस्तर मापदण्डको प्रमाणपत्र प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक देव भट्टराइले अन्र्तृराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्दा विद्यालयमा अन्र्तराष्ट्रिय मापदण्डको शैक्षिक वातावरण, संस्कार रहेको सन्देश दिनुका साथै अझ बढी जिम्मेवार, उत्तरदायी र उत्कृष्ट बन्न प्रेरित गरेको बताउनुभयो । किताबी ज्ञान मात्र नभइ जीवन उपयोगी, व्यवहारिक र मूल्यमा आधारित शिक्षा दिने उद्देश्यसहित अघि बढेको विद्या सागर प्रसिद्ध इङ्लिस बोर्डिङ स्कुललाई आधुनिक प्रविधि, सुरक्षित वातावरण र विद्यार्थीमैत्री पूर्वाधार विकासमा विशेष ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो ।
“विद्यार्थीहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, यसलाई सुनिश्चित गर्न विद्यालयका सम्पूर्ण कक्षा कोठामा सिसिटिभी क्यामरा जडान गरिएको छ, यसले सुरक्षासँगसँगै अनुशासन कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो । शिक्षक तथा विद्यार्थीको उपस्थितिलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन डिजिटल हाजिरी प्रणाली लागू गरिएको छ । प्रविधिमैत्री शिक्षालाई उच्च प्राथमिकता दिइएको छ। कक्षा ६ देखि १० सम्मका कक्षाहरुमा प्राजेक्टरको माध्यमबाट अध्यापन हुने गरेको छ।
विद्यालयका प्रबन्ध निर्देशक चोलाकान्त रेग्मीले विद्यालयले भौतिक र शैक्षिक गुणस्तरमा विशेष जोड दिँदै आएको बताउनुभयो । गुणस्तर शिक्षणका साथै शुद्ध पिउने पानीको व्यवस्था, विद्यालय परिसर सफा र व्यवस्थित,व्यवहारिक सिकाइ, कम्प्युटर ल्याब, रमाइलो बाल उद्यान, एसीसहितको कक्षा कोठाको व्यवस्थापन,खेलकुद, व्यवस्थित पुस्तकालय,सुरक्षित आवागमनका लागि चार वटा विद्यालय बसको व्यवस्था, दक्ष तथा अनुभवि शिक्षक विद्यालयका विशेष आकर्षण रहेको प्रबन्ध निर्देशक रेग्मीले बताउनुभयो ।
वि.स.२०५९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल साढे चार सय बढी विद्यार्थी अध्ययनरत रहेको निर्देशक रेग्मीले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर भुसालको अध्यक्षता तथा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा प्याब्सन नेपालका केन्द्रिय सल्लाहकार सुमनगोपाल आचार्य, प्याब्सन नवलपरासी अध्यक्ष डम्बर गुरुङ, एडुबृज एलायन्सका अध्यक्ष कृष्णप्रसाद शर्मा, लुम्बिनी सुनवल सहकारीका अध्यक्ष लेखनाथ खरेल, भूमि आयोगका पूर्व अध्यक्ष देवराज भण्डारी, रामनगर जेसीजका अध्यक्ष डिल्लीराम सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको विद्यालयकी शिक्षक तारा डुम्रेले बताउनुभयो । पश्चिम नवलपरासी जिल्लामा यसअघि परासीस्थित लिटिल एञ्जेल्स माविले आइएसओ चिन्ह प्राप्त गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस