२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

कोभिड नियन्त्रण, आर्थिक विकास र गरीबी निवारण रामग्रामको प्राथमिकतामा

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) ८८५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्षमा कोभिड नियन्त्रण, आर्थिक विकास र गरीबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
नगरपालिकाको आजदेखि शुरु भएको आठौँ नगरसभामा प्रस्तुत गरिएको आव २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोभिड रोकथाम, नियन्त्रण तथा उपचार, कृषि लगायतको क्षेत्रलाई प्रवद्र्धन गरी आर्थिक विकास गर्ने र गरीबी निवारण, पूर्वाधार लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।
नगर प्रमुख नरेन्द्र गुप्ताको अध्यक्षतामा भएको उक्त सभामा उपप्रमुख रम्भा कुंवरले वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तत्व पेश गर्नुभएको थियो । रामग्राम नगरपालिकाको आगामी वर्षका लागि रु ७३ करोड ५२ लाख ६ हजार बराबरको बजेट पेश गरिएको छ ।
जसमा प्रशासनिक खर्चतर्फ रु १६ करोड विनियोजन गरिएको छ भने पूर्वाधार निर्माणतर्फ वडा स्तरीय पूर्वाधारका लागि सात करोड ७० लाख रुपैँया, नगर स्तरीय पूर्वाधार योजनाका लागि रु ६ करोड ३० लाख, सडक बोर्डतर्फ ६५ लाख र समपुरकतर्फ चार करोड गरी रु १८ करोड २८ लाख विनियोजन गरिएको उपप्रमुख कुंवरले बताउनुभयो ।
नगरसभापछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख नरेन्द्र गुप्ताले संविधान, विभिन्न कानून तथा जनसंख्या, भूगोल र राजस्व क्षमताको आधारमा बजेट तर्जुमा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्ष रामग्राम नगरपालिकाको पहिचानसहितको लोगो निर्माण गरि कार्यान्वयनमा ल्याईने भएको छ । सूचना तथा अभिलेख कक्षको स्थापना गर्ने, मोबाईल एपको प्रयोग गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा फ्रि वाईफाई जोन बनाईने नीति अवलम्बन गरिने भएको छ ।
कृषितर्फ नगरको ग्रामीण क्षेत्रमा एक घर एक करेसाबारी तथा शहरी क्षेत्रमा कौसी खेतीलाई प्रवद्र्धन गर्ने नीति लिईएको छ । त्यसका लागि प्राविधिक सहायता प्रदान गरिनेछ । कृषि उपजको बजारीकरणका लागि स्थानीय हाटबजारको पूर्वाधार निर्माणमा जोड दिईएको छ ।
आगामी वर्षको कार्यक्रममा पर्यटनतर्फ रामग्राम स्तुपको सौन्दर्यकरण र पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गरिने उल्लेख छ । सहकारीतर्फ सहकारी संस्थाका सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन तथा महिला द्धारा सञ्चालित सहकारीलाई विशेष प्रवद्र्धन गरिने नगर प्रमुख गुप्ताले बताउनुभयो ।
उद्योग वाणिज्यतर्फ एक वडा एक उत्पादन कार्यक्रमलाई अघि सारिएको छ । श्रम रोजगारतर्फ मेयर युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरी रोजगारी र स्वरोजगार सिर्जनामा जोड दिईने भएको छ । स्वास्थ्यतर्फ ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम, गर्भवती तथा सुत्केरी महिलासँग भेटघाट तथा उपमेयर पोषण झोला वितरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
शिक्षातर्फ मेयर छात्रवृत्ति कार्यक्रम, कोभिड १९ का कारण अभिभावक गुमाएका बालबालिकालाई राहत तथा हरित विद्यालयको अवधारणा अघि सारिएको छ । महिला बालबालिकातर्फ छोरी बचाँउ, छोरी पढाऔँ कार्यक्रमलाई निरन्तरता दिईएको छ भने बालमैत्री नगर घोषणा गरी दीगोपनाका लागि रणनीति बनाएर कार्यान्वयन गर्ने, बालबालिकासँग मेयर कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख गुप्ताले बताउनुभयो ।
ज्येष्ठ नागरिकका लागि सत्सङ्ग, मिलन केन्द्र स्थापना गरिने भएको छ । गैरसंस्थाको नियमन गरिने भएको छ । पूर्वाधारतर्फ ठूला आयोजनाको डिपिआर तयार गरेर मात्र सञ्चालन गरिने तथा एक वडा एक पोखरी, एक वडा एक नमूना पार्क निर्माण गरिने भएको छ ।
भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्ने, पानीका स्रोतको पहिचान र परीक्षणको नीति लिइने, ल्याण्डफिल्ड साईडको थप विकास र व्यवस्थीत गरिने, मेयर उज्यालो कार्यक्रममार्फत चोकचोकमा सडकवत्ति जडान गर्ने नीति पनि लिईएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० माईक्रोन भन्दा कमको प्लाष्टिक प्रयोगमा निरुत्साहित गर्ने, विपद् प्रतिकार्य योजना निर्माण गरी विपद व्यवस्थापनलाई प्रभावकारी गर्ने नीति लिईएको छ । नगरसभाको अर्काे बैठक आगामी असार ३० गते बस्ने नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस