२०८१ मंसिर ७, शुक्रबार
24 खबर अपडेट

बुद्ध भिक्षु बनेको स्थल अनोमाघाटमा बुद्धपार्क बन्ने

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) १८८० पाठक संख्या

मोहन पौडेल
परासी, २३ जेठ – ओझेलमा परेको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाटमा बुद्धपार्क बन्ने भएको छ । पौराणिक बुद्धस्थल भएर पनि ओझेलमा रहेको अनोमाघलाई संरक्षण गर्दै पर्यटकीय गनतव्य बनाउन यहाँ विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो ।
सुस्ता गाउँपालिका—५ स्थित ठाडिघाटको रुपमा परिचित अनोमाघाट क्षेत्रलाई नमूना पर्यटकीय गनतव्य बनाउन गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले चासो देखाएका हुन् । भगवान् गौतम बुद्धसँग सम्बन्धित भएपनि यो क्षेत्र ओझेलमा पर्दै आएको छ ।
नारायणी नदीको तटमा रहेको यो स्थल गौतम बुद्ध भिक्षु बनेको स्थल हो । कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिदार्थ गौतमले यसै स्थलमा केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको बुद्धग्रन्थहरमा उल्लेख रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
हाल प्रदेश सरकारको सहयोगमा अनोमाघाट क्षेत्रले ओगटेको छ विघा क्षेत्रफललाई संरक्षण गरी चारैतिरबाट पर्खाल लगाउने कार्य धमाधम भईरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । यसैवर्ष यस क्षेत्रमा रमणीय उद्यान बनाउने योजना समेत रहेको उहाँले बताउनुभयो । यद्यपी कोभिड महामारीका कारण निर्माण कार्य अघि बढाउन समस्या भईरहेको गाउँपालिकाले जनाएको छ ।
आगामी वर्ष पनि गाउँपालिका र प्रदेश सरकारको लगानीमा यस क्षेत्रमा बुद्धपार्क बनाउने योजना अघि सारिएको छ । बुद्धको ठूलो मूर्ति स्थापना गर्दै बुद्धपार्क बनाएर पर्यटकीय गनतव्य बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण भईसकेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
दुई वर्ष अघि प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउँदा पनि यस क्षेत्रलाई मूख्य गनतव्य स्थलको रुपमा प्राथमिकतामा राखेको थियो भने प्रदेश सरकारका मन्त्रीहरुको सहभागितामा पूर्णिमा उत्सव पनि मनाईएको थियो । गौतम बुद्धले बुद्धत्व प्राप्ति गर्न बोधगया जाँदाको प्रस्थान विन्दु रहेकोले पनि अनोमाघाट क्षेत्र महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा रहेको छ । र्ण
सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी (अनोमा) नदीको किनारमा अवस्थित छ। मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षकोउमेरमा अनोमा नदी (त्रिवेणी नदी) मा टाउको मुण्डन गरेर सन्न्यासी भएको बुद्धग्रन्थहरुमा उल्लेख छ ।
लुम्बिनी र रामग्राममा आउने पर्यटकलाई अनोमाघाटसम्म ल्याउने गरी पहल भईरहेको गाउँपालिकाले जनाएको छ । यो पनि एउटा महत्वपूर्ण बुद्धस्थल भएकोले यस क्षेत्रको संरक्षण, विकास, प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीयवासी बताउँछन् । बुद्धजन्मभूमि लुम्बिनीको बहृत्तर विकास भईरहँदा अनोमाघाट क्षेत्रको विकासमा उचित ध्यान नदिईएको स्थानीयवासीको गुनासो छ ।
हाल यस क्षेत्रमा बुद्धको एउटा मूर्ति, शिवमन्दिर, धर्मशाला, बगैँचा र कुस्ती रङ्गशाला रहेको छ । वर्षाैँदेखि यहाँ प्रत्येक वर्षको कात्तिक पूर्णिमा बृहत कुस्ती प्रतियोगिता हुँदै आएको छ । सो प्रतियोगितालाई व्यवस्थित गर्न हालै स्टेडियम बनाईएकोले पनि अनोमाघाट क्षेत्रलाई आकर्षक बनाउन टेवा पुगेको छ ।
यसै क्षेत्रबाट डुङ्गा चढेर नारायणी पारीको भारतले अतिक्रमण गर्दै आएको नेपाली भूमि सुस्तामा आवातजावात गरिन्छ । नजिकै झोलुङ्गे पुल पनि निर्माणाधिन रहेको छ । पुल बनेर सुस्तामा आवातजावत सहज भएपछि यहाँ पर्यटकको ओईरो लाग्ने भएकोले पनि अनोमाघाट क्षेत्र आकर्षक पर्यटकीय गनतव्य बन्ने गाउँपालिकाको विश्वास छ । यस क्षेत्रको थप खोज, अनुसन्धान र उत्खनन् गर्न सरकारले चासो दिनुपर्ने सरोकार पक्षहरुको माग छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%१%१%२%१%

प्रतिक्रिया दिनुहोस