२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

नवौँ डाँडाजोर महोत्सव तथा पूर्णिमा मेलाको तयारी तीव्र – सराय,मारुनी र थारु नाच प्रमुख आकर्षण

२०७९ आश्विन १९, बुधबार प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

मोहन पौडेल
परासी, १९ असोज । लोप हुन लागेका लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले पूर्वी नवलपरासीमा ९ औँ पटक डाँडाजोर महोत्सव तथा पूर्णिमा मेला आयोजना हुने भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित मणिसंगम माविको प्रांगढमा हुने महोत्सवको तयारी तीव्र रुपमा भईरहेको छ ।
बडा दशैँको पूर्णिमाको अवसर पारेर यही असोज २२ र २३ गते मेला सञ्चालन गर्न लागिएको आयोजक डाँडाजोर मेला व्यवस्थापन तथा संस्कृति संरक्षण समितिका अध्यक्ष अर्जुन विश्वकर्माले दैनिक 24 खवरलाई जानकारी दिनुभयो । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यो मेला यस क्षेत्रमा त्रिवेणी पछिकै दोस्रो ठूलो मेला मानिन्छ ।
मेलामा करिब दश हजारको हाराहारीमा दर्शकहरुको उपस्थिति हुने आयोजकले अनुमान गरेको छ । मेलामा लोपोन्मुख सराय नाच,मारुनी नाच,थारु नाच लगायत अन्य नाच प्रमुख आकर्षणको रुपमा रहनेछ भने राष्ट्रिय कलाकारहरु खुमन अधिकारी,देवी घर्ती,दीपक खड्का सहित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस बाहेक मेलामा स्थानीय खानाका परिकारका स्टलहरु, बाल उद्यानका स्टल पनि रहनेछन् ।
भगवान् रामले रावण लगायतका राक्षसको बध गरी मानवजातीलाई मुक्ति दिलाएको खुशीयालीमा असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु लगायतका जिल्लामा बडादशैँको दशमीदेखि पूर्णिमासम्म सराय नाच्ने गरिन्छ । यस मेलामा पनि त्यस आसपासका जिल्लाबाट बसाइसराईँ गरी आएकाहरुले विगतदेखि नै सराय नाच प्रदर्शन गर्दै आएको उहाँले बताउनुभयो ।  धार्मिक सांस्कृतिक महत्व बोकेको सराय नाच पछिल्लो समय लोप हुन लागेकोले यसको संरक्षण गर्न मेलामा विशेष प्राथमिकता दिएको अध्यक्ष विश्वकर्माको भनाई छ । हातमा  लौरो,तरबार, खुकुरी,खुँडा लिएर एकआपसमा मिलेर नाच्नु नै यसको आकर्षक पक्ष हो ।
यस्तै मारुनी नाच मगर समुदायमा नाचिने मौलिक नाच हो । ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण मारुनी नाचमा पुरुषहरुले गीत गाउने, नाच्ने, मादल बजाउने तथा महिलाहरुले अन्य व्यवस्थापन गर्ने गर्दछन् । विशेषगरी यो नाच पाल्पा जिल्लामा प्रख्यात छ ।
विनयी त्रिवेणीको धार्मिक तथा ऐतिहासिक स्थल डाँडाजोरमा आयोजना हुने उक्त मेलाको पहिलो दिन महिला तथा पुरुषको भलिवल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु हुनेछन्  भने दोस्रो दिन सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

मेला सञ्चालनका लागि विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ वडा कार्यालयले सहयोग गरेको छ भने अन्य खर्च स्टल, बाल उद्यान लगायतबाट संकलन र दर्शकहरुबाट हुने चन्दा सहयोगबाट व्यवस्थापन गर्ने आयोजकको तयारी छ ।डाँडाजोरमा विगत ३०।४० वर्षअघि देखि लाग्दै आएको यो मेला केही वर्ष रोकिएको थियो । पछिल्लो पटक यहाँका यूवाहरुको सक्रियतामा नौ वर्षदेखि यो मेला सञ्चालन हुँदै आएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस