२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राममा मंगलबार डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित ( साल अघि) ५६५ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असोज । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्दै गएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । आगामी मंगलबार नगरका सबै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
रामग्राम नगरपालिकाले आज नगरका सरोकारवालाको उपस्थितिमा डेंगु रोग सम्बन्धी अभिमुखिकरण,अन्तरक्रिया तथा छलफल कार्यक्रम गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान अन्र्तगत सबै वडामा वडा स्तरका सरोकारवालाहरुको उपस्थितिमा सचेतनामूलक अन्तरक्रिया गर्ने र मंगलबार सवै वडामा लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक सुरज गौतमले जानकारी दिनुभयो ।
अभियान सञ्चालन गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न नगरवासीलाई पनि आग्रह गरिने उहाँले बताउनुभयो ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि सचेतना र अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख सम्झना चौधरीले बताउनुभयो । डेंगु तीव्र रुपमा फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले बताउनुभयो ।
पछिल्लो समय नेपालमा डेंगुका बिरामी बढिरहेका छन्। विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने स्वास्थ्य कार्यालय नवलपरासीका मलेरिया निरीक्षक देवीलाल पौडेलले बताउनुभयो ।
पश्चिम नवलपरासीमा हालसम्म ६२ जनामा डेंगु पोजेटिभ देखिएको छ । जिल्लामा डेंगुको प्रकोप फैलिनेक्रम बढ्दै गएपनि डेंगु परीक्षणका लागि किटको भने अभाव रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेँङ्गुका लक्षण हुन्। जटिल प्रकृतिको डेँङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्ने चिकित्सकले जनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस