२०८२ फागुन ८, शुक्रबार
24 खबर अपडेट

सम्पदा संरक्षणमार्फत पर्यटन र समृद्धि : गुप्ता

२०८२ फागुन ८, शुक्रबार प्रकाशित ( घण्टा अघि) ७४ पाठक संख्या

परासी, ८ फाल्गुन । पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले जिल्लाभित्र रहेका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताउनुभएको छ ।
सुनवल नगरपालिका वडा नं. ७ र ८ मा आयोजित घरदैलो कार्यक्रममा मतदातासँग संवाद गर्दै उहाँले जिल्लाको पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, स्तरोन्नति र प्रभावकारी प्रचार–प्रसारमार्फत पर्यटन विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“हाम्रो क्षेत्र प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ, तर योजनाको अभावले धेरै सम्भावना उपयोग हुन सकेको छैन,” गुप्ताले भन्नुभयो, “सम्पदालाई पर्यटनसँग जोड्न सके हजारौँ रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र बलियो बन्न सक्छ।”
उहाँले धार्मिक आस्था केन्द्र, ऐतिहासिक स्थल तथा पुरातात्विक सम्पदाहरूको व्यवस्थित अभिलेखीकरण, दीर्घकालीन संरक्षण योजना र आवश्यक पूर्वाधार विकासका लागि संघीय सरकारसँग पहल गर्ने बताउनुभयो । साथै स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग सहकार्य गर्दै संरक्षण अभियान सञ्चालन गरिने उहाँको भनाइ छ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले रोजगारी, विकास र पूर्वाधार सुधारलाई प्रमुख मागका रूपमा उठाएका थिए। गुप्ताले आफूलाई विजयी गराए क्षेत्रको समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थनको अपिल गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस