

परासी, १९ पुस। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनयुद्धका सहिद सुर्यबिक्रम थापा (सलीम)को स्मृति दिवस मनाएको छ ।
शनिवार नवलपरासीले बर्दघाट–१४ चौपत्तास्थित शहिदस्मृति अस्पतालको प्रांगणमा एक कार्यक्रम आयोजना गरेर पार्टीले सलीम लगायतका शहिदलाई सम्झेको हो ।
कार्यक्रममा सलीमका सहोदर दाजु समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिष्कारको पक्षमा पार्टी उभिएको जानकारी गराए ।
कार्यक्रममा पार्टीका युवा नेता तथा बैकल्पिक केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेयले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरेर बैज्ञानिक समाजवादी ब्यवस्था नल्याए सम्म शहीदका सपना पूरा नहुने चर्चा गरे ।
आगामी निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित निर्वाचन भन्दै उक्त पार्टीले सशक्त बहिष्कार गर्ने जनाएको छ ।
सलीम तत्कालिन जनमुक्ति सेनाका बिग्रेड कमाण्डरका रुपमा कार्यरत हुदाँ २०६० साल पौष १९ गते शाही नेपाली सेनासंगको भिडन्तमा सहादत प्राप्त उच्च कमाण्डर थिए ।
कार्यक्रममा सलीमको छोरी खुसी , क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ल्ला संयोजक चुडामणी भण्डारी र अस्पतालका अध्यक्ष डिबी थापालगायतको आतिथ्यता थियो ।
कार्यक्रमको संचालन पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले गरेका थिए । नवलपरासीबाट जनयुद्धको क्रममा ३४ जनाले सहादत्त प्राप्त गरेका थिए ।