

परासी, १९ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) पश्चिम नवलपरासीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको शनिबार परासीमा सम्पन्न भेलाले क्षेत्र नं.१ र २ का लागि आकांक्षी उम्मेदवार सिफारिस गरेको भेला पछि परासी प्रेस क्लवमार्फत पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज गोपी ज्ञवालीका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नं.१ बाट केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य सीता बौडेल र सद्धाम शेष सिफारिस हुनुभएको छ भने क्षेत्र नं. २ बाट केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य चिनक कुर्मी,केन्द्रीय सदस्य गोपी ज्ञवाली, जिल्ला प्रमुख चन्द्रभुषण पाठक(आलोक) र शैलेन्द्र हरिजनको नाम सिफारिस गरिएको छ ।
उक्त पार्टीको तर्फबाट समानुपातिकको बन्दसुचीमा नवलपरासी जिल्लाबाट महिला कलस्टरबाट सुनिता काफ्ले र मुस्लिम कलस्टरबाट बुद्धन अलिको नाम समावेश भएको बताइएको छ । काफ्ले उक्त पार्टीको केन्द्रीय सदस्य एवं महिला संघको केन्द्रिय सहसंयोजक हुनुहुन्छ भने अलि प्रदेश सदस्य हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति,जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारको समूह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको थियो ।
पार्टीको गत पुस १२ गते सम्पन्न लुम्बिनी प्रदेश स्तरीय भेलाले नवलपरासी जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक आलोकलाई जिम्मेवारी दिएको थियो ।
यसैबीच प्रलोपाले आगामी पुस २६ गते शनिबार जिल्ला समायोजन भेला आयोजना गरी पार्टीको नवलपरासी जिल्ला समिति घोषणा गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला प्रमुख आलोकले जानकारी दिनुभयो ।