२०८२ अषाढ ३०, सोमबार
24 खबर अपडेट

कुशासनको आँगनबाट सुशासनको आह्वान

२०८२ अषाढ २८, शनिबार प्रकाशित ( दिन अघि) १५६ पाठक संख्या

  कृष्ण समर्पण

नेताले देश वर्वाद पारे, भ्रष्टाचारमा लिप्त भए, देश वस्न लायक भएन ,पुराना नेतालाई बिदा गर्नुपर्छ र सक्षम युवालाई अवसर दिनुपर्छ सामान्यतः यी र यस्तै जवाफ पाइन्छ जब सर्वसाधारण जनतालाई आजको देशको स्थितिको निकासको बारे प्रश्न गरिन्छ ।

देशले भोगिरहेको दुर्दशा र शासकको रबैया देख्दा जनताको सुख र खुसी नजिकै छ जस्तो लाग्दैन पनि । देशका व्याप्त समस्या र विकृतिहरू केवल परिणामहरू हुन् ।

समग्र देशमा विद्यमान रहेको द्वैध चरित्र, शासकीय अक्षमता, अपारदर्शीता ,योग्यताको अभाव ,अदूरदर्शिता,प्रभावकारी निर्णय निरोपणको कमी, स्वार्थ आदि प्रमुख कारणहरू हुन् ।

कुनै पनि देशको चौतर्फी विकास र उन्नयनका लागि हर क्षेत्र आफैमा अब्बल र सफल हुनुपर्छ। नीतिगत निर्णय र सुधार, राज्यका नीति, विधि सञ्चालन गर्नुपर्ने र आमूल सुधारका लागि राजनीतिक निर्णयले लाखौँ जनता र देशको स्थितिमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा पनि सबैको ध्यान विशेषत: राजनीति र राजनीतिक क्षेत्रमा पुग्नु स्वाभाविक हो ।

तसर्थ देशको आमूल परिवर्तनको संवाहक बनि जनताको समृद्धि र देशको विकासका लागि राजनीतिक क्षेत्रबाट नीतिगत सुधार र निर्णय गर्ने गरी अगाडि बढ्ने सङ्कल्प राखेर असल मनले गरिने सेवामूलक राजनीति आफैमा गलत होइन|

नेतृत्व भन्नाले आफ्ना मन, वचन, कर्म र कार्यशैलीले असल कर्मप्रति प्रेरित गर्दै सत्य र वृहत् उन्नयनका लागि दृढ भइ हिँड्ने, सकारात्मक परिवर्तनका लागि आफै अग्रसर भई निश्चित उद्देश्य प्राप्तिका निमित्त प्रेरित गर्ने, आफू अगाडि बढेर बहुजनको हितका लागि  कदम चाल्ने तथा सामूहिक हितमा अग्रसर हुने भन्ने बुझिन्छ ।

राज्यका नीति, निर्णय र शासन प्रणालीलाई जनमुखी बनाइ समग्र देश र देशका क्षेत्रहरूको उन्नयन र संवृद्धिका लागि आफ्ना निश्चित मान्यता, सिद्धान्त, उद्देश्य र विधिलाई अङ्गाल्दै अधिकांश जनतालाई गोलबन्द गरेर जनताका हक,अधिकार, सामाजिक समस्याको उजागर गर्दै जनताको प्रतिनिधित्व गरेर देशको आमूल परिवर्तन र विकासका निम्ति अग्रपङ्क्तिमा रहेर उद्देश्य प्राप्तिका निमित्त अगाडि बढ्ने व्यक्ति नै असलमा राजनीतिक नेता हो|

जनताका पीर मर्काका वारेमा साक्षात् जानकार ,जनताको भावना बुझ्न सक्ने, सेवा भावले ओतप्रोत ,नैतिक एवम् चरित्रवान्, पारदर्शी एवम् स्वच्छ छवि भएको,निश्चित मूल्य र आदर्शबाट प्रेरित जसले आफ्ना कर्म र भावनाले देशको हित र जनताको भलाईका लागि काम गरोस् ,जनताकै नजिक रहोस् र जनताकै साथमा उनिहरूको माग सम्बोधन गरोस् तब पो ऊ वास्तविक नेता जसले यो देश र जनतालाई शिरोपर गरिरहोस् |यदि यही परिभाषा कै अनुसार पनि हामी आत्मसात् गरौँ हामीले दिनरात नेता भनेका मान्छे के नेता नै हुन त?

विगतमा आन्दोलन गर्दै सङ्घर्ष र कतिले जेल जीवन बिताए कै भरमा सदाकाल नेतृत्वमा रहनु, वर्तमान जनताका माग र आकाङ्क्षालाई राम्रोसँग बुझेर सोही अनुरूप कार्य गर्न नसक्नु ,जनताका आवाजलाई नसुन्नु र वर्तमान युगका चुनौती र अवसरलाई बुझ्न नसक्नुले पनि हाल कायम रहेका राजनीतिक व्यक्ति वास्तविक अर्थमा नेता होइनन् भन्ने प्रस्ट हुन्छ| र ती व्यक्तिहरूलाई जनताले नेतृत्वबाट विदा होउन् भन्ने चाहेका छन्‌ ।

उनको साटो अध्ययन,अनुभव,दक्षता, युवा सोचको, नवीन विचार प्रवर्धन गर्ने युवा वर्गलाई सत्ता र नेतृत्वमा देख्न चाहन्छन् । तर उमेर मात्र युवा भएका र तिनै  कुशासन गरी जनताका आकाङ्क्षामा खुरी खेलेका, आजको युगको आवश्यकतालाई बुझ्ने चेष्टा र क्षमता नभई लाभका लागि भ्रष्टलाई नेतृत्वमा स्थापित गरेर जनताका सपनामा कुठाराघात गर्ने,आवधिक चुनावमा तिकडम गरेर चुनाव जितेर लोकतन्त्र यही हो भनी भाषण गर्ने, आफ्ना स्वार्थ सिद्धि भन्दा पर जनताका पिरमर्का नदेख्ने, पद र पैसामा मस्ती गर्ने र त्यसैका आधारमा जम्मा भएका भीडलाई उत्प्रेरित गर्ने, अपारदर्शीता र असक्षमताका  कारण देश धराशायी बनाउने , बौद्धिक रूपमा कुनै उपार्जन गर्न-गराउन नसक्ने र आफ्ना श्रममा जीविकोपार्जन नगरी स्रोत दोहनमा रमाउने हालका नेतृत्व विस्थापित अपरिहार्य भएतापनि यिनैका पछि बसेर थपडी बजाउने, सानो पद र अवसरमा सबै आम युवा र जनताका भरोसालाई तिलाञ्जली दिने ,सोचमा नविनता र कार्यशैलीमा पारदर्शिता नहुने व्यक्तिहरू उमेरकै आधारमा युवा पनि हुँदैनन् र उनीहरू हालको नेतृत्वलाई विस्थापित गर्न सक्ने ल्याकत पनि राख्दैनन ।

बरु उनीहरूपनि तिनै असक्षम नेतृत्वका उत्तराधिकारी र निरन्तरता हुन्छन् ।को व्यक्ति कुन पदमा छ भन्नु भन्दा कसले के योगदान र असल कर्म गरेर लोकको हित हुने काम गरेको छ भनेर उसको मूल्याङ्कन गर्ने हाम्रो बानी छैन| गलत भाष्य सिर्जना गरेर असक्षमलाई पनि सक्षम र सक्षमलाई असक्षम जसरी प्रस्तुत गरिरहेका छौँ|

विष वृक्षको सानो बिरुवा देख्दा नरम र सुन्दर देखिए पनि कालान्तरमा विषनै  विकसित हुन्छ । कतिपय अपवादलाई छोडेर हाल राजनीति, विभिन्न पदमा आसीनहरू जनताको हित, सेवा र समाज परिवर्तन र विकासका लागि नभई आफ्ना आशक्ति पूर्ण गर्न आएको देखिन्छ| यदि जनताका हित, समाजसेवी , पारदर्शीता कायम गर्नुपर्ने, औचित्य पुष्टि हुने काम गर्नुपर्ने, नैतिकता प्रदर्शन गर्नुपर्ने, सादा जीवन र उच्च विचारमा अडिग रहेर आफ्नो जीवन निर्वाहका लागि राजनीतिक लाभ नभइ पेशा व्यवसाय हुनुपर्ने ,आफ्ना स्वार्थलाई देश र जनता अधीनमा  राख्दै कामको आधारमा मूल्याङ्कन हुने गरि जवाफदेही बन्नुपर्ने हुँदो हो त अधिकांशले राजनीतिक क्षेत्र  रोज्ने समेत समेत थिएनन् । जसले राजनीति रोज्दथे उनीहरू थप नैतिकवान्  र जनताको लोकप्रिय हुन्थे ।

सोचका दरिद्र, समाजका रवाफ देखाउन पाइने, ज्ञान लिनु भन्दा पदमा बसेर अरूलाई ज्ञान दिन पाइने, लोकरिझाईँमा व्यस्त हुन पाइने, आफ्ना आसेपासेलाई विना श्रम लाभको क्षेत्रमा पाल्न पाइने, कुनै श्रम र पसिना बगाउन नपर्ने ,जीवन धान्नकै लागि परदेश ज्यानै जोखिममा राख्नु नपर्ने भएपछि मानिस  राजनीतिमा  आकर्षित छन् ।

यदि जनताकै हित र सेवाका  लागि भए चाहिए भन्दा बढी सुविधा, लवाइ खवाइ, रवाफ, तामझाम किन आवश्यक पर्छ ? आफ्नो आचरण, कर्म र बचन र कार्यशैलीबाट पनि  जनताका भाषा बोल्न सकिन्छ ,सक्दो जनहितका काम गर्न सकिन्छ |

के असल काम गर्न राजनीति नै किन आवश्यक पर्छ ? महत्वपुर्ण कुरा के हो भने जसले आफ्नो चरित्र ,सोच, शैली र व्यवहारलाई युग सुहाउँदो ,जन सापेक्षिक एवम् समाजको हित हुने गरि बदल्न सक्दैन या सकेको छैन उसले हाम्रो समाज र राष्ट्र नै बदल्छ भन्नु त नास्पातीको रुखमा सुन्तला फलाउने अपेक्षा राख्नु जस्तो होइन र?

सामाजिक, सांस्कृतिक,साहित्यिक,शैक्षिक आदि क्षेत्रमा नेपथ्यमै बसेर पनि निरन्तर सेवा र योगदान गरिरहेका कति जना मानिस हामीले सम्मान गरेका छौँ? जब सम्म उनीहरू सम्मानित महसुस गर्दैनन, उनिहरूले नयाँ पुस्तालाई यसरी पनि नेतृत्व गर्न सकिन्छ र सबैको मन जित्न सकिन्छ भनेर कसरी प्रेरित गर्छन? हाम्रो समाजले मान्छे भन्दा पहिले  उसको हैसियत हेर्छ |

उसको पद र शक्तिका आधारमा उसलाई गरिने व्यवहार भिन्न हुन्छ| जुन समाज सशक्त नागरिक र चेतनशील जनशक्ति विना रहेको हुन्छ त्यहाँ व्यक्तिले उसको नैसर्गिक अधिकार पनि विना सर्त पाउन सक्दैन| उदाहरणका लागि एक जना विद्वान् एवम् शैक्षिक व्यक्ति जसको इमानमा प्रश्न गर्न सकिन्न ऊ सरकारी कार्यालय या कुनै राज्यले दिने सुविधाका लागि गयो भने उसले सहज र सरल तवरले सेवा पाउला या कुनै व्यक्ति कुनै क्षेत्रको दलको पदीय हैसियतमा रहेको, माथिसम्म पहुँच भएको व्यक्ति लामबद्ध कार्यकर्ताबाट रवाफी शैलीमा तिनै सेवा लिन गयो भने उसले सामान्य नागरिक जसरी हन्डर खान्छ होला कि नहोला?

नेता भनेको नेतृत्व दिन सक्ने ,समस्याबाट पार लगाउन सक्ने आफूले दुखै सहेर पनि समाज र जनताको हितका खातीर समर्पण रहने हुनुपर्ने हो अनि कार्यकर्ता भनेको कार्य गर्ने सशक्त र दृढ सचेत व्यक्तिहरू जसले आफ्ना दल र सिद्धान्तमा अडिग रही जनताले अनुभूति गर्न सक्ने गर्ने हो न कि गलत निर्णय पनि सहि भनि झ्याली पिट्ने| जब सम्म यसको आधारमा नेता र कार्यकर्ता छुट्याउन सक्दैनौँ तब सम्म हामी यो दुश्चक्रबाट पार पाउँदैनौँ|

समाजको एकता, भातृत्व, सद्‍भाव एवम् सहिष्णुता आजकल निकै फितलो भएको छ| मानिसहरूमा संस्कार र संस्कृतिप्रति लगाव छैन| परिश्रम र मेहनत गर्नेहरूलाई हौसला,सहयोग र समर्थन झिनो बन्दै छ| नैतिक शिक्षा, आफ्ना मूल्यमान्यता, संस्कार र रीति केवल औपचारिकतामा सीमित भएका छन्| यसका वारेमा नीति बनाउनेहरू,पदमा बसेर जागीर बचाउनेहरू र सत्तामा रहेर भाषण छाँट्नेहरूमा थोरैपनि चिन्ता र चासो छैन|

समाजको विकास के भौतिक सुख सयल एवम् चरम उपभोक्तावादले निम्त्याएको भौतिक श्रोत साधनको पहुँचले मात्र हुने हो र? जुन समाजमा छलछाम गरेर भएपनि, पदको दुरुपयोग गरेर या अनैतिक कर्मबाट भएपनि आर्थिक सम्पन्न, समाजमा रवाफ कायम गर्दै सुखमय जीवन व्यतीत गर्नेलाई वाहवाही गर्ने तर आफ्नो पसिनामा विश्वास गर्दै निरन्तर कर्मशील बनेर समाजमा सक्दो योगदान गर्नेलाई होच्याउने, किनारामा पार्ने, कुनै वास्ता नगर्ने तथा हतोत्साहीत पार्ने कामले असल कर्ममा विश्वास राख्नेहरू कसरी प्रेरित होलान्?

जहाँ विद्वान्, सक्षम र असल व्यक्ति पछि पारिन्छन् र वित्ताकाङ्क्षी,पथभ्रष्ट एवम् स्वार्थपरक व्यक्तिलाई जयजयकार गरिन्छ तब समाजमा सभ्यताको विनाश सुरु हुन्छ| जहाँ समानता र समताका कुरा सिकाइनुपर्छ त्यही धनी-गरिब,उच-नीच तथा सुखी दुखि भनेर भेदभाव र गलत दृष्टिकोण राखिन्छ भने कसरी समाजमा सबैको अस्तित्व स्वीकार गर्न सकिन्छ कसरी सबैको सम्मान हुन्छ?कतिपयले भ्रष्टाचारीलाई कारबाही गरियो भने भ्रष्टाचार निर्मूल हुन्छ भन्छन्| कतिले त आर्थिक चलखेल,बदमासी र अनियमिततालाई मात्र भ्रष्टाचारका रूपमा अर्थ्याउछन|

आफ्ना पद र शक्तिलाई अनुचित,गैरकानुनी तवरले स्वार्थका लागि दुरुपयोग गरिने सम्पूर्ण आचरण भ्रष्टाचार हो| कानुनलाई अनुचित तवरबाट गरिने भ्रष्टाचार आर्थिक अनियमितता भन्दापनि झन डर लाग्दा हुन्छन्| युगलाई नै बन्धक बनाएर अनुचित काम गरेर देश नै खाडलमा पर्न सक्छ| भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणका लागि सजाय र दण्ड मात्र कडा बनाएर हुदैन साथमा असल नैतिक शिक्षा पनि सँगै दिइनुपर्छ|

जहाँ सहि मार्गमा हिँड्ने मानिस सम्मानित हुन्छ,नैतिकवानको मूल्य छ र आफ्नो पौरखमा रमाएका छन् उनिहरूको सच्चा सम्मान र मूल्याङ्कनले मात्र मानिस गलत कर्ममा जाँदैन र गलत गर्दा मान सम्मान होइन इज्जत जाने डर देखेर पनि कुकर्ममा पुग्दैन| जब इमान र नैतिकता समेत मानिसमा रहन्न तब कानुनले मात्र कति दिन सजाय दिन सकिन्छ? जुन दिनबाट असल काम गर्नेको सम्मान हुन्छ मान्छे असल हुन प्रेरित हुन्छ|

मान्छेको महानता उसको व्यवहार, काम र योगदानबाट हुनुपर्छ पदबाट होइन र पद जिम्मेवारी हुन उन्मुक्त स्वतन्त्रता होइनन्| गाडि त्यही चालकले गन्तव्यमा पुर्‍याउँछ जसलाई सवार रहेका यात्रु,चलाएको गाडि र चलाउन सक्ने योग्यता र सीप छ,सवारी सम्बन्धी ज्ञान र नियमको पालनाका साथै गाडिप्रति उसको अपनत्व पनि छ |जसले पहिले केही काम गरेको छैन,श्रमको महत्व थाहा छैन,नेतृत्व भनेको गफ गरेर आफ्ना स्वार्थ सिद्दीको साधनका रूपमा बुझेको छ र पदमा पुगेर रवाफ देखाउन पाइन्छ भन्ने गलत सोच छ भने उसले समाजलाई के दिन्छ?

जुन दिनबाट हामी आफ्नो फाइदा नहेरी समग्र देशको फाइदा हेर्न थाल्छौँ, सहिलाई सहि र गलतलाई गलत भन्न सक्छौँ, आफू भन्दा सक्षम,नैतिकवान् र असलका पछि लाग्छौँ |गुण र दोषका आधारमा समर्थन र आलोचना गर्छौँ तब हामीले आफ्नो सहि कर्तव्य निर्वाह गर्छौँ| हामीले सिर्जना गरेका भाष्यहरू या हामीलाई सुनाइएका कतिपय भाष्यहरूले हामीलाई कर्मशील बनाउन कदापि प्रेरित गरेका छैनन् |

कसरी हुन्छ छिटो समयमा, विना श्रम पैसा कमाउने र समाजमा अरूलाई देखाइ दिने सोचले ग्रसित हुँदा मानवीय गुण समेत बिर्सेर हामीहरू धन-सम्पत्तिकै पछि दौडेका छौँ|यति भनि रहँदा धन सम्पत्ति नचाहिने भनेको हैन तर सहयोग , आपसी समझदारी, सेवा,सद्‍भाव आदि हामीलाई सदैव आवश्यक पर्दछ| तसर्थ: असल समाज खोज्नु भन्दा पहिले असल नागरिक बन्ने प्रयास गरौं जसका लागि असल र नैतिक शिक्षाप्रति सवैलाई प्रेरित गरौं|           [email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस