२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

पोषण मार्फत जीवन रुपान्तरण परियोजनाबारे पाल्हीनन्दनका सरोकारवालालाई अभिमुखीकरण

२०८१ आश्विन १५, मंगलबार प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

परासी, १५ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पोषण सुधारका लागि पोषण मार्फत जीवन रुपान्तरण परियोजना शुरु भएको छ । आईडिई नेपालको साझेदारीमा एकिकृत हातेमालो समाज नेपाल (सियान)ले उक्त परियोजना सञ्चालन गरेको हो ।
सियानले गाउँपालिकाका सरोकारवालालाई परियोजनाको विषयमा जानकारी पनि गराएको छ । गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका पदाधिकारीहरुलाई परियोजनाको उद्धेश्य र यसले सञ्चालन गर्ने क्रियाकलापको विषयमा अभिमुखीकरण गरिएको परियोजनाका फिल्ड सुपरभाईजर दिपेश सिग्देलले जानकारी दिनुभयो ।
यो परियोजना पाँच वर्षको बहुवर्षीय भएपनि हाल पहिलो चरणको लागि नौ महिना सञ्चालन हुने आईडिईका जिल्ला परियोजना संयोजक विजय पौडेलले बताउनुभयो । पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्थाको सुधार गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यो परियोजना पश्चिम नवलपरासीको पाल्हीनन्दनसहित सरावल, प्रतापपुर र सुस्ता गरि चार वटै गाउँपालिकामा लागू गरिएको उहाँले जानकारी दिनुभयो ।
पौडेलका अनुसार परियोजनाले विशेषगरि कृषि, साना उद्यम र खानेपानी तथा सरसफाइ स्वच्छता प्रवद्र्धन मार्फत पोषण सुधारका क्रियाकलाप सञ्चालन गर्ने छ । सीमान्तकृत समुदाय,पाँच वर्ष मुनिका बालबालिका,गर्भवती तथा स्तनपान गराईरहेका महिला र कुपोषित बालबालिकाको परिवार लाभान्वित हुने यस परियोजनाले पोषण तथा खाद्य सुरक्षा,सरसफाइ तथा स्वच्छता प्रवद्र्धन,पोषणयुक्त खाद्यको उपलब्धता र उपभोगमा वृद्धि,पोषण सम्बन्धि व्यवहारमा परिवर्तन तथा सुधार,महिला उद्यमी विकास एवं लैंगिक तथा सामाजिक समावेशीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको परियोजनाका सिनियर फिल्ड पर्यवेक्षक अच्युतराज खनालले जानकारी दिनुभयो ।
परियोजनाले कृषि तथा खाद्य प्रणालीको नतिजा प्राप्त गर्न गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिसँग समन्वय तथा बैठक,पोषणयुक्त खाद्य परिकार प्रदर्शन,प्रविधि प्रसार तथा विस्तार, लक्षित वर्गलाई साना पशुपन्छी पालनमा सहयोग,पोषणयुक्त उत्पादन सामग्री सहयोग,नर्सरी उत्पादन प्रदर्शन,गड्यौला मल उत्पादन तथा प्रदर्शन लगायतका गतिविधि सञ्चालन गरि सफा र स्वच्छ पोषिलो खानाको भौतिक तथा आर्थिक पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ ।
आपूर्ति श्रृंखला र साना बजार उद्यमको नतिजा प्राप्तिका लागि पोषण संवेदनशील कृषि तथा समग्र पोषण अवस्था प्रवद्र्धनका लागि सिबिएफको विकास र परिचालन,पोषणयुक्त खाद्य पदार्थ प्रवद्र्धनका लागि कृषि तथा खाद्य प्रदर्शन,हाट बजार प्रयोग लगायतका क्रियाकलाप सञ्चालन गर्नेछ भने खानेपानी,सरसफाइ र स्वच्छतामा सुधार गर्न स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुदृढिकरणका लागि सहयोग,खाद्य सरसफाइ तथा स्वच्छता सम्बन्धि परामर्श एवं सचेतनामूलक कार्यक्रम, जोखिमयुक्त घरपरिवारलाई वास सामग्री सहयोग, उत्कृष्ट वास व्यवहार सुधार गर्ने घरपरिवारका लागि प्रत्साहान सामग्री सहयोग, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि लगायतका क्रियाकलाप सञ्चालन गर्ने खनालले बताउनुभयो ।
परियोजनाले दिगो विकास लक्ष्यका सात वटा लक्ष्यलाई हासिल गर्न सहयोग पुग्ने दाबी गरिएको छ । सोही अवसरमा परियोजनाको पहिलो चरणका क्रियाकलाप पाल्हीनन्दन गाउँपालिकाको वडा नं.५ र ३ लाई प्राथमिकता दिने र अन्य वडामा पनि क्रियाकलापहरु सञ्चालन गर्ने गरि वडा छनौट गरिएको थियो । गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको परियोजनाका तथ्यांक अधिकृत मिन रानाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस