२०८२ श्रावण २३, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पताललाई आधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन स्वास्थ्य मन्त्री पौडेलसँग माग

२०८१ आश्विन १३, आईतबार प्रकाशित (0 महिना अघि) ६७० पाठक संख्या

मोहन पौडेल
परासी, १३ असोज । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पताल र डा.विनोद निता कँडेल आँखा अस्पतालको निरीक्षण गर्नुभएको छ । नवलपरासीकै बर्दघाटमा निर्माण हुन लागेको उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास गर्न आईतबार नवलपरासी आउनुभएका मन्त्री पौडेलले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुसहित पृथ्वीचन्द्र अस्पतालको निरीक्षण गर्नुभएको हो ।
मन्त्री पौडेललाई अस्पतालका अध्यक्ष महेन्द्र गुप्ता, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वागत गर्नुभएको थियो । उक्त अवसरमा अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेट डा. मोहम्मद नुरुल होदाले अस्पतालका लागि अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउन माग गर्नुभयो । जनशक्ति भएपनि उपकरणको अभावमा सेवा प्रवाह गर्न कठिनाई भएको बताउँदै डा. होदाले अर्थोपेडिक (हाडजोर्नी)को शल्यक्रियाका लागि आवश्यक पर्ने सी–आम मेसिन,पित्त थैली लगायतको शल्यक्रियाका लागि ल्याप्रोस्कोपिक मेसिन, जनरल एनेस्थेसिया (बेहोस गराउने ) मेसिन र कानको शल्यक्रिया गर्ने मेसिन उपलब्ध गराउन माग गरिएको जानकारी दिनुभयो ।
पृथ्वीचन्द्र अस्पतालमा यी मध्ये हाल अर्थोपेडिकको शल्यक्रियाका लागि प्रयोगमा रहेको पूरानो एक थान मेसिन र एक थान जिओ मेसिन रहेको छ । अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह शुरु भएपछि आकस्मिक र अतिरिक्त सेवाका लागि छुट्टाछुट्टै उपकरण आवश्यक हुने भएकोले सरकारसँग थप उपकरण माग गरिएको डा.होदाले बताउनुभयो । चार वटै उपकरणका लागि आवश्यक जनशक्ति र विशेषज्ञ चिकित्सक सेवा भने अस्पतालमा उपलब्ध रहेको उहाँले बताउनुभयो । पृथ्वीचन्द्र अस्पताल लुम्बिनी प्रदेश सरकार मातहत रहेको ५० शैय्याको अस्पताल हो ।
यस्तै स्वास्थ्य मन्त्री पौडेलले आईतबार नै परासीस्थित डा.विनोद निता कँडेल आँखा अस्पतालको पनि निरीक्षण गर्दै त्यहाँको सेवा प्रवाहको विषयमा जानकारी लिनुभएको छ । मन्त्री पौडेलसहितको टोलीलाई पूर्वगृहराज्यमन्त्री एवं नेपाल नेत्र ज्योति संघ नवलपरासीका अध्यक्ष देवेन्द्रराज कँडेल र आँखा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु कँडेल लगायतले स्वागत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस