२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रोटरी क्लवको सहयोगमा पृथ्वीचन्द्र अस्पतालमा आईसीयू कक्ष

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) १४७३ पाठक संख्या

मोहन पौडेल
परासी, २१ जेठ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले आईसीयू कक्ष निर्माण गरेको छ । जिल्लामा आईसीयू नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवन लगायतका जिल्लामा जानुपर्ने बाध्यता थियो ।
जिल्लामा आईसीयू नहुँदा कोभिड तथा अन्य गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रोटरी क्लवले चार शय्याको आईसीयू कक्ष स्थापना गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिनुभयो ।
रोटरी क्लबका सदस्यहरुले व्यक्तिगत सहयोगबाट निर्माण गरेको आईसीयू कक्षसँगै अब जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने आईसीयू कक्ष निर्माण संयोजक एवं क्लबका प्रेसिडेन्ट नोमिनी वीरेन्द्र अग्रहरीले विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्मित आईसीयू कक्ष आजै अस्पताललाई हस्तान्तरपण गरिएकोले अव यसको सञ्चालन छिटो गर्नुपर्ने क्लबका प्रेसिडेन्ट ईलेक्ट धनपद यादवले बताउनुभयो । करिब रु पन्ध्र लाखको लागतमा आईसीयू कक्ष निर्माण गरिएको क्लबका सचिव राजकुमार रेश्मीले बताउनुभयो ।
नवनिर्मित आईसीयू कक्षको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गर्नुभयो । मन्त्री त्रिपाठीले कोभिड १९ को सङ्क्रमणबाट जिल्लावासीलाई जोगाउन उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट, एचडियु सेवा, भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापनाका लागि करोडौँ रकम पठाउनुका साथै पिसीआर मेसिन पनि आफूले मन्त्रालयबाट पठाएको जानकारी दिनुभयो ।
तर अस्पताल व्यवस्थापन पक्षले पिसीआर मेसिन पठाएको एक महीना वितिसक्दा पनि जडान गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले तत्काल पिसीआर मेसिन जडान गरी सञ्चालनमा नल्याए अन्यत्र पठाउने चेतावनी दिनुभये ।
सङ्घीय सरकारबाट अस्पतालको सेवा सुविधा विस्तारका लागि आवश्यक बजेट पठाएपनि अस्पताल प्रशासनले सेवा विस्तार गर्न ढिलासुस्ती गरेको उहाँले बताउनुभयो । मन्त्री त्रिपाठीका अनुसार यस अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न रु डेढ करोड, एचडियु सेवाका लागि रु एक करोड नौ लाख ७५ हजार, भेन्टिलेटरसहितको आईसीयू कक्षका लागि रु तीन करोड तथा एक थान पिसीआर मेसिन उपलब्ध गराईएको छ ।
जिल्लामा अहिले सम्म यी कुनै पनि सेवा नभएकोले यहाँका बिरामीहरु बुटवल, भैरहवा, चितवन लगायतका अस्पतालमा जानुपर्ने बाध्यता थियो । अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले पूर्वाधार अभावका कारण पिसीआर मेसिन समयमै सञ्चालन गर्न नसकेको तर अब छिटो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताउनुभयो । उहाँले एचडियु र अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%२%

प्रतिक्रिया दिनुहोस