२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रेडक्रसद्धारा बर्दघाटका आईसोलेशनलाई अक्सिजन कन्सेटेटरसहित स्वास्थ्य सामग्री सहयोग

२०७८ जेष्ठ २०, बिहिबार प्रकाशित ( साल अघि) ८३० पाठक संख्या

मोहन पौडेल
परासी, २० जेठ – कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित चिसापानी अस्पताल र सहीद स्मृति सामुदायिक अस्पताल चौपत्तालाई अक्सिजन कन्सटेटरसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले आज अस्पतालमा अक्सिजनको अभाव हुन नदिन तथा बिरामीको उपचार सहज बनाउन आवश्यक सामग्री हस्तान्तरण गरेको हो । चिसापानी अस्पतालका लागि अस्पताल अध्यक्ष एवं बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याललाई र शहीद स्मृति सामुदायिक अस्पतालका लागि अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेलाई रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
दुवै अस्पतालका आईसोलेशन सेन्टरका लागि अक्सीजन कन्सीटेटर एक थान, मास्क २००० थान, साबुन ४५ थान, सेनीटाइजर ४० थान पी.पी.इ. १५ सेट उपलब्ध गराईएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ जिल्ल शाखा अधिकृत मुरारी गुप्ताले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अक्सिजनको अभावले धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको तथा स्वास्थ्यकर्मीले पनि आवश्यक व्यक्तिगत सुरक्षाका सामग्रीको अभावमा उपचारमा कठिनाई नहोस् भन्ने उद्देश्यले अस्पताललाई अक्सिजन कन्सटेटर सहितका सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री बुझ्दै बर्दघाट नगर प्रमुख बस्यालले महामारी नियन्त्रण अभियानमा हातेमालो गरी सहयोग गरेकोमा रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कोभिड नियन्त्रण र नगरवासीको ज्यान जोगाउन नगरपालिकाले सबै किसिमका प्रयासहरु गर्दै आएको बताउनुभयो ।
महामारीको यस समयमा रेडक्रसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरी मानवीय पीडालाई कम एवं क्षति न्यूनीकरण गर्न उपचार केन्द्र, आईसोलेशन सेन्टरहरुलाई पनि पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक स्वच्छ खानेपानी, स्वास्थ्य सरसफाई, फोहार व्यवस्थापनका उपकरण, र अग्रपङ्क्तिमा खटिएकालाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउँदै आएको जिल्ला शाखाका सभापति अग्रहरीले बताउनुभयो ।
यस्तै रेडक्रसले स्वयम्सेवक परिचालन गरी टोल समुदायमा कोभिड १९ बाट बच्न र बचाउनका लागि पूर्व तयारी तथा प्रतिकार्यका कार्यहरु गर्दै आएको जनाएको छ । उक्त अवसरमा रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष रामकुमार गुप्ता, उपकोषाध्यक्ष रामचन्द्र अधिकारी, कार्यकारी सदस्य एवं रक्तसञ्चार समिति संयोजक सुरज केसी, कार्यकारी सदस्य एवं जुनियर युवा रेडक्रस समितिका संयोजक बिनोद खनाल, कार्यकारी सदस्य विमला उपाध्याय , नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारी र नेपाल रेडक्रस सोसाइटी बुद्धमंगल उपशाखाका सचिव प्रदीप कुमार चौधरीको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस