२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

स्थानीय उत्पादनको प्रयोग,बजारीकरण र प्रबर्द्धन गर्नुपर्नेमा माग

२०८० मंसिर १०, आईतबार प्रकाशित ( महिना अघि) ३०७ पाठक संख्या

मोहन पौडेल
परासी, १० मंसिर । स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणमा सहयोग गर्न पश्चिम नवलपरासीका उद्यमीहरुले माग गरेका छन् । नवौँ उद्योग दिवसको अवसरमा शनिबार परासीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि उद्यमीहरुले स्थानीय कच्चापदार्थ र नेपाली प्रविधि तथा सीपबाट उत्पादीत वस्तुको प्रचारप्रसार, प्रयोग र बजारीकरणमा सहयोग गर्न जोड दिएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वदेशी उत्पादनको प्रयोगमा ध्यान नदिएकोले अन्र्तराष्ट्रिय बजारबाट आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसकिएकोले साना तथा घरेलु उद्योगहरु फस्टाउन नसकेको बताएका छन् । लघु उद्यमीको प्रवद्र्धन नभएसम्म समृद्ध नेपालको परिकल्पना साकार हुन नसक्ने उद्यमीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै दाउन्ने देवी बहुउद्देश्यीय सहकारी संस्था बर्दघाटकी अध्यक्ष देवी पौडेलले आफ्नो सहकारीले स्थानीय कच्चा पदार्थको प्रयोग गरि झोला उत्पादन गर्दै आएको तर बजारीकरणमा समस्या रहेको बताउनुभयो । महादेव कृषि सहकारी संस्था रामग्रामका अध्यक्ष देवेन्द्र चौधरीले आफू कम्प्युटर ईन्जिनियरिङ्ग गरेर कृषि क्षेत्रमा केही गर्न चाहेको, भिजन पनि भएको तर बैंकले ऋण नपत्याउने, ठूलो क्षेत्रफलको खेत पाउन नसक्ने एवं उद्यम गर्न चाहनेलाई प्रोत्साहन गर्ने निकायको अभाव रहेको बताउनुभयो । सुस्ताकी किशन कुमारी चौधरीले आफूले पटेरका सामग्री उत्पादन गर्दै आएको तर स्वेदशमा बजार नभएकोले विदेश निर्यात गर्ने गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले तीनै तहका सरकारले साना तथा लघु उद्यमीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । तीनै तहका सरकारको अधिकांश बजेट तालिम,गोष्ठी,सेमिनार जस्ता अनुत्पादक क्षेत्रमा सीमित हुने गरेको बताउँदै प्रदेस सांसद जयसवालले स्थानीय सरकार गम्भीर भएर यसप्रति ध्यान दिएको अवस्था नरहेको जिकिर गर्नुभयो । उद्योगी व्यवसायीका समस्या समाधान गर्न आफू निरन्तर प्रयासरत रहेको उहाँको भनाई थियो । साना उद्योगहरुको प्रवद्र्धन विना आर्थिक समृद्धि सम्भव नभएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लाका सातै स्थानीय सरकार मिलेर स्थानीय उत्पादनको बजारीकरणका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय उत्पादनबाटै जिल्लाको चिनारी गराउन सक्नुपर्ने उहाँले बताउनुभयो ।
नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो । नेपालमा स्रोत र साधनको कमी नभएको मात्र ईच्छाशक्तिको कमी रहेको उहाँको भनाई थियो । उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक संघ संस्थाले स्थानीय उत्पादनलाई प्रयोग गर्ने, प्रवद्र्धन गर्ने अभियान चलाउनुपर्ने र तीनै तहका सरकारले पनि महत्व दिन सके उद्योग फस्टाउन सक्ने उहाँले बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले पछिल्लो चार वर्ष यता कोरोना र आर्थिक मन्दी, बैंकको चर्काे व्याजदर लगायतका कारण उद्योगहरु धरासायी भएको बताउनुभयो । आर्थिक चलायमान नभएसम्म मन्दी अन्त्य नहुने बताउँदै उहाँले साना उद्योगले उत्पादन गरेका वस्तुले सजिलै बजार पाउने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले पछिल्लो समय जिल्लामा उद्योग दर्ता हुने क्रम घट्दो रहेको बताउनुभयो । कार्यालयमा दैनिक पाँच वटा उद्योग दर्ता हुँदा दुई वटा बन्द (लगत कट्टा)को लागि आउने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतम, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, घरेलु तथा साना उद्योग कार्यालयका कृष्ण काफ्ले, नविन बस्याल लगायतले उद्योग दिवसको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस