२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासी बन्यो पूर्णखोप सुनिश्चित जिल्ला

२०८० अषाढ ३०, शनिबार प्रकाशित ( साल अघि) ६४१ पाठक संख्या

मोहन पोडेल/दैनिक24 खबर
परासी, ३० असार । पश्चिम नवलपरासीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि पन्ध्र महिनासम्म बालबालिकाले पाउनुपर्ने सबै प्रकारका खोपको पूर्णमात्रा पाएको सुनिश्चित भएपछि आज एक समारोहकाबीच जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
सुनवलमा आज आयोजित समारोहमा पूर्व कानूनमन्त्री एवं प्रतिनिधिसभा सदस्य धु्रवबहादुर प्रधानले पश्चिम नवलपरासीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । जिल्लामा लक्षित उमेर समूहका सबै बालबालिकाहरुले नियमानुसार लगाउनुपर्ने सबै प्रकारको खोपको मात्रा पूरा गरि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
१६ महिना देखि ५९ महिनासम्मका १९ हजार ७८३ जना बालबालिका मध्ये यस वर्ष धुरधुरी सर्वेक्षण तथा खोज र खोप अभियान सञ्चालन गरी १६ देखि ५९ महिनासम्मका सात जना खोपको कुनैपनि मात्रा नलगाएका र ४३४ जना खोप छुटाएका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोपको दायरामा ल्याई खोपको मात्रा पूरा गराउन सफल भएको प्रमुख पन्थीले बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल खोप पाईरहेका पन्ध्र महिना मुनिका ६ हजार ७९४ जना बालबालिका छन् ।
राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिकाहरुलाई १३ प्रकारका खोप प्रदान गरिन्छ । खोप सेवालाई विस्तार गर्दै लैजाने र महामारीजन्य रोगहरुको विरुद्धमा नयाँ नयाँ खोप समावेश गर्दै जाने नेपाल सरकारको नीति अनुरुप हाल नेपालमा क्षयरोग,रोटा भाईरसबाट हुने झाडापखला,पोलियो,स्टे«प्टोकोकस निमोनिया, भ्यागुते रोग, लहरेखोकी,धनुष्टाकार, हेपाटाईटिस बी,मेनिन्जाईटिस,दादुरा, रुबेला,जापानिज ईन्सेफ्लाईटिस र टाईफाईड विरुद्धका गरि १३ प्रकारका खोप पन्ध्र महिना उमेर सम्ममा प्रदान गरिँदै आएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनुभयो ।
पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा अघि खोप तालिका अनुसार बालबालिकाले खोप पाए नपाएको अनुगमन गर्न धरधुरी सर्वेक्षण गरिएको थियो । जिल्ला खोप समन्वय समितिले अनुगमन गरि जिल्लाका सवै वडा हुँदै सातै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि आज जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाहरुले पूर्णखोप सुनिश्चितताको अवस्थालाई निरन्तरता कायम राख्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका पनि गरेका थिए । पश्चिम नवलपरासीलाई वि.स.२०७० फागुन १४ गते नेपालकै पहिलो पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । त्यसपश्चात बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै आएको छ ।
जिसस प्रमुख भगौती यादवको अध्यक्षता तथा संघीय सांसद एवं पूर्वमन्त्री धु्रबहादुर प्रधानको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थी, महिला स्वास्थ्य स्वयमसेविका संघकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले खोप कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको थियो ।
उक्त अवसरमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सफल बनाउने अभियानमा सहयोग गर्ने विभिन्न संघ संस्था, निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयमसेविका लगायतलाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस