२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण क्षेत्रका १२७ महिला लाभान्वित, पाठेघरको मुख क्यान्सरका ७ शंकास्पद बिरामी

२०८० अषाढ १८, सोमबार प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

मोहन पौडेल
परासी, १८ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले समुदाय स्तरमा सञ्चालन गरेको महिलाहरुको स्तन, पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण क्षेत्रका १२७ महिला लाभान्वित भएका छन् ।
नगरपालिकाले असार ११ गतेदेखि १७ गतेसम्म नगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरेको थियो । ६ वटा स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १२७ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो ।
जसमध्ये पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद सात जना भेटिएका छन् भने आङ खस्ने समस्या भएका सात जना, स्तन क्यान्सरको शंकास्पद एक जना भेटिएको उहाँले बताउनुभयो । क्यान्सरका शंकास्पद विरामीलाई थप उपचारका लागि परामर्शसहित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ भने आङ खस्ने बिरामीलाई रिङ पेसरीको विधिबाट उपचार गरिएको शिविरमा परीक्षणका लागि खटिनुभएकी सिनियर अनमी गंगा भट्राईले जानकारी दिनुभयो । अन्य समस्या भएका बिरामीलाई पनि औषधी तथा आवश्यक परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
नगरका ग्रामीण क्षेत्रलाई लक्षित गरी रामग्राम १८ को अमरवन स्वास्थ्य चौकी, रामग्राम १७ को देवगाव स्वास्थ्य चौकी, रामग्राम १६ को हकुई स्वास्थ्य चौकी र शुक्रौली स्वास्थ्य चौकी, रामग्राम ७ को उनवछ स्वास्थ्य चौकी र रामग्राम ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर,आङ खस्ने जस्ता समस्या बढ्दै गएकोले समयमै पहिचान गरी निराकरण गर्ने उद्देश्यले लक्षित वर्गलाई घरदैलो नजिकबाट सेवा दिने गरी शिविर सञ्चालन गरिएको शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले बताउनुभयो । महिलाहरुले यस किसिमका रोगहरु लुकाउने कारणले समयमा पहिचान नहुँदा ज्यानै जोखिममा पर्ने हुनाले समुदायमै पुगेर सेवा दिएको उहाँको भनाइ थियो ।
शिविरमा यस सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी सिअनमी गंगा भट्टराई र रम्भा चौधरीलाई परिचालन गरिएको थियो भने ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरिएको थियो ।
सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने,असुरक्षित शारीरिक सम्पर्क तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढी हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ । नेपालमा महिलाहरुमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस