२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

व्याजदर एकल अंकमा झार्न नवलपरासीका व्यवसायीको माग,जिससद्धारा सरोकारवालासँग छलफल

२०८० अषाढ १२, मंगलबार प्रकाशित ( साल अघि) १९३५ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असार । पश्चिम नवलपरासीका उद्योगी व्यवसायीले बैंकको व्याजदर एकल अंकमा झार्न माग गरेका छन् । चर्काे व्याजदरका कारण व्यवसाय नै धरासायी भएको भन्दै व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी चर्काे दरमा व्याज बढाउँदा समस्या भएको गुनासो गरेका हुन् ।
बैंकको चर्काे व्याजदर र समाधानको विषयमा आज जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले परासीमा गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सहभागि व्यवसायीहरुले वर्तमान विषम परिस्थितिमा पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर नघटाउँदा सडकमै उत्रनुपर्ने अवस्था आएको बताएका हुन् ।

20230627_084433

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले बैंकको चर्काे व्याजदर र करमा वृद्धि हुँदा उद्योगी व्यवसायी हतोत्साही भएको बताउनुभयो । उहाँले चर्काे व्याजदरकै कारण व्यवसायी आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकार र नेपाल राष्ट बैंकबीच समन्वय नहुँदा व्यवसायी चेपुवामा परेको तिवारीको दाबी थियो । उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्ने राज्यको स्पष्ट र स्थायी नीति नहुँदा निजी क्षेत्र मारमा परेको बताउँदै उहाँले व्यवसायीको संरक्षण हुन नसके बैंक पनि नरहने जिकिर गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले पछिल्लो समय बैंकमा रकम थुप्रिरहेको तर पनि व्याज नघट्दा व्यवसायी संकटमा परेको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउन सरकारले पहलकदमी नलिनु विडम्बना भएको बताउँदै भण्डारीले पुँजीगत खर्च बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
व्याजदर एकल अंकमा नझेरसम्म व्यवसाय फस्टाउन नसक्ने उहाँको भनाई थियो । आर्थिक मन्दीका कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था, बैंकको चर्काे व्याजदर र ऋण तिर्न हम्मेहम्मे भईरहेको सन्दर्भमा आफूसँग भएको जग्गा जमिन बेचेरै ऋण तिर्न खोज्दा पनि सरकारले कित्ताकाँट नखुलाउँदा समस्या भएको केन्द्रीय सदस्य भण्डारीले उल्लेख गर्नुभयो । यस किसिमको अराजकता बढ्दै गए बैंकमा ताला लगाउने स्थिति आउने भन्दै उहाँले तत्काल निकास निकाल्न ध्यानाकर्षण गराउनुभयो ।
नवलपरासी उद्याग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अग्रहरीले बैंक मोटाईरहने, व्यवसायी दुब्ल्याईरहने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गर्नुभयो । बैंक तथा वित्तीय संस्थाहरुले लिँदै आएको व्याजदर तत्काल एक अंकमा झार्न माग गर्दै अग्रहरीले यही कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले पछिल्लो पटक करमा समेत वृद्धि गर्दा उद्योगी व्यवसायी थप मारमा परेको उहाँले बताउनुभयो ।
सुनवल उद्योग वाणज्य संघका अध्यक्ष रमेश कर्माचार्यले आर्थिक मन्दी र चर्काे व्याजदरका कारण प्रताडित व्यवसायीलाई बैंकहरुले थप मानसिक तनाव दिईरहेको बताउनुभयो । बैंकले दिने टर्चरका कारण व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उहाँले अफ्ठ्यारोमा पारेर व्यवसायीलाई पोस्ने काम बन्द गर्न माग गर्नुभयो । साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्दै घरभाडाको उचित दर कायमका लागि पहल गर्न पनि उहाँले जोड दिनुभयो ।

20230627_102838

पेटोलियम डिलर्स एसोसिएसन लुम्बिनी प्रदेशका संयोजक प्रेम न्यौपानेले व्याजदर घट्दा बैंकहरुले बेस रेट नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । जसरी पनि व्यवसायीलाई पोस्ने बैंकहरुको नीति देखिएको बताउँदै न्यौपानेले नेपाल राष्ट बैंकले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्दीको फाईदा उठाउँदै व्यवसायीलाई अफ्ठ्यारो पारेर असुली गर्ने बैंकहरुको नीति देखिएको भन्दै नवलपरासी चेम्बर अफ कमर्शका उपाध्यक्ष रामचन्द्र भण्डारीले आक्रोस पोख्नुभयो । उहाँले व्यवसाय चलायमान बनाउने वातावरण बनाउन र व्यवसायीलाई संरक्षण गर्ने कार्यक्रम ल्याउन स्थानीय सरकारको पनि ध्यानाकर्षण गराउनुभयो ।
पेटोलियम डिलर्स एसोसियसनका जिल्ला प्रतिनिधि राजेश कुमार गुप्तले एकल अंकमा व्याजदर नझारेसम्म व्यवसाय नफस्टाउने बताउँदै व्यवसायीसँग लुट्ने नीति बन्द गर्न जोड दिनुभयो । वर्तमान समयमा बैंक, वित्तीय संस्था, व्यवसायी कसैसँग पनि पैसा छैन भने पैसा कहाँ गयो भन्दै उहाँले प्रश्न गर्नुभयो । नवलपरासी चेम्बर अफ कमर्शका सदस्य राधेश्याम अग्रहरीले व्याजदर घटाउन नेपाल राष्ट बैंकलाई दबाब दिनुपर्ने बताउनुभयो ।
नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले पैसा छैन भन्दै सबै पन्छिने हो भने पैसा यथार्थमा कहाँ गएको हो अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्ष नरेन्द्र भट्टराईले अर्थतन्त्र चलायमान बनाउन सबै निकायले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
परासी बैंकर्स संघका अध्यक्ष ढिल्लीराज खनालले बैंकहरुमा पैसा थुप्रिन थालेकोले अब विस्तारै सहज हुँदै जाने बताउनुभयो । उहाँले बैंकहरु नेपाल राष्ट बैंकको नीति निर्देशनमा चल्ने गरेको बताउँदै व्याजदर नियन्त्रणका लागि सरकार र राष्ट्र बैंकलाई नै घच्घच्याउन आग्रह गर्नुभयो । ऋणीसँगै बैंकमा बचत गर्ने सर्वसाधरणको रकम सुरक्षा गर्ने जिम्मेवारी पनि बैंकको रहेकोले व्यवसायीले एकतर्फी सोच्न नहुने उहाँको तर्क थियो । देशको आर्थिक अवस्था, तरलता,माग र आपूर्ति तथा बजारको अवस्थाले गर्दा व्याजदर सँधै समान नहुने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले चर्काे व्याजदरका कारण व्यवसायी मारमा परेकोले यसको समाधानका लागि जिल्ला समन्वय समितिले जिल्लास्थित बैंक, निजी क्षेत्र तथा सरकारका प्रतिनिधिबीच सहजीकरण गरेको बताउनुभयो ।
उहाँले जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ तथा नेपाल उद्योग वाणिज्य महासंघ मार्फत सरकारलाई ध्यानाकर्षण गराउने गरी सबै पक्ष लाग्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले चर्काे व्याजदरका कारण व्यवसायी तथा आम सर्वसाधारणसमेत मर्कामा परेको बताउँदै ऋणिको समस्या बुझ्दिन आग्रह गर्नुभएको जिल्ला समन्वय अधिकारी मान बहादुर खड्काले बताउनुभयो ।

20230627_084420

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस