२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राममा ५१ जनामा क्षयरोग पुष्टि, निवारणका लागि सचेतना फैलाउँदै नगरपालिका

२०७९ चैत्र ११, शनिबार प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

मोहन पौडेल
परासी, ११ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ५१ जना नयाँ क्षयरोगी फेला परेका छन् । चालु आ.व.२०७९/८० को साउनदेखि हालसम्मको अवधिमा उक्त संख्यामा क्षयरोगी फेला परेका हुन् ।
रामग्राम नगरपालिकामा महिला भन्दा पुरुष क्षयरोगबाट बढी पीडित देखिएका छन् । नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनका अनुसार यसवर्ष भेटिएका ५१ जना क्षयरोगी मध्य पुरुष मात्रै ३७ जना छन् । क्षयरोगबाट सबैभन्दा धेरै ६५ वर्ष माथिका ज्येष्ठ नागरिक प्रभावित भएका छन् । नयाँ भेटिएका ५१ मध्ये तीन जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
जनस्वास्थ्य निरीक्षक हरिजनका अनुसार रामग्राम नगरपालिकामा गत आ.व.२०७८/७९ मा ७९ जना तथा आ.व.२०७७/७८ मा ५५ जना क्षयरोगी भेटिएका थिए । नियमित औषधी सेवन गरे यो रोग निको हुन्छ तर समुदायमा अझै पनि धेरै क्षयरोगी लुकेर रहेकोले क्षयरोग निवारणमा चुनौती रहेको शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटा बताउनुहुन्छ ।
समुदायमा लुकेर रहेका क्षयरोगीको पहिचान गरी उपचारको दायरामा ल्याउन नगरपालिकाले अभियान नै चलाएको उहाँले बताउनुभयो । यसअघि समुदायमै पुगेर १७१ जनाको नमूना संकलन गरी परीक्षणको लागि पठाएकोमा क्षयरोगी भने भेटिएनन् । नगरमा फेला परेका मध्ये अधिकांश स्वयम परीक्षणमा आएका हुन् ।
क्षयरोगलाई शुन्यमा झार्ने सरकारको नीति अनुसार रामग्राम नगरपालिकाले पनि समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको सापकोटाले बताउनुभयो । समुदायमा लुकेर बसेका क्षयरोगीलाई उपचारको दायरामा ल्याउने र क्षयरोगका लक्ष्ण तथा यसबाट हुन सक्ने असरका विषयमा सचेतना जगाउने उद्देश्यले समुदायमै पुगेर सचेतना फैलाउने काम गरिरहेको स्वास्थ्य शखाका अनिल खड्काले बताउनुभयो ।
शुक्रबार रामग्राम १६ मा विश्व क्षयरोग दिवसको अवसर पारी स्थानीयलाई क्षयरोगको बारेमा सचेतना जगाईएको थियो । उक्त अवसरमा वडाअध्यक्ष बिजय यादवले लक्षण दखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गर्न आग्रह गर्दै क्षयरोगको उपचार निःशुल्क हुने बताउनुभयो । रामग्रामका १८ वटै वडामा क्षयरोगीको निःशुल्क उपचार हुने र खकार परीक्षण पनि निःशुल्क हुँदै आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस