२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनौलो हजार दिनका महिलाको आयआर्जन र पोषण सुधार गर्न सरावलले दियो नगद अनुदान

२०७९ फागुन २८, आईतबार प्रकाशित ( साल अघि) १४०८ पाठक संख्या

मोहन पौडेल
परासी, २८ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सुनौलो हजार दिनका विपन्न महिलाहरुलाई आयआर्जन र पोषण सुधार गर्न नगद अनुदान वितरण गरेको छ ।
गाउँपालिकाले सरावलको मनरीस्थित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध सुनौलो हजार दिनका २५ जना महिलालाई जनही रु २५ हजारका दरले बीउ पुँजी उपलब्ध गराएको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत विपन्न महिलाहरुको सामाजिक,आर्थिक सशक्तीकरण तथा व्यवसायिक उद्यमशीलता प्रबर्द्धनका लागि सहकारीमा आबद्ध सुत्केरी तथा गर्भवती महिलालाई सुरुवाती पुँजी उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । आज मनरीमा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले उक्त नगद अनुदान वितरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष चौधरीले पोषणको अभावमा आमा र बच्चालाई कुपोषण हुन नदिनका लागि महिलाहरु आफै आत्मनिर्भर भई पोषण खानेकुरा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले गाउँपालिकाले आयआर्जनका लागि नगद अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले प्राप्त रकमलाई व्यवसायमै लगानी गरि आयआर्जन गर्न र पोषण सुधारमा ध्यान दिन सुनौला हजार दिनका महिलाहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष चौधरीले बालबालिकाको हेरचाहमा आमा र परिवारका अन्य सदस्यको पनि उत्तिकै भूमिका हुनेमा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले पोषणको अवस्था सुधार गर्न परिवारको आर्थिक अवस्था सुधार हुनुपर्ने बताउनुभयो । आमा र बच्चा दुवैको स्वास्थ्य र पोषण सुधारका लागि महिला आफै सक्षम हुन जरुरी रहेको बताउँदै उहाँले पालिकाबाट पाएको नगद अनुदानको सही सदुपयोग गरि आयआर्जन गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले पालिकाले उपलब्ध गराएको अनुदान रकम उद्देश्य अनुसार लगानी गरि आयआर्जन गर्न र बालबालिका र आमाको स्वास्थ्य एवं पोषण अवस्था सुधार ल्याउने कुरा सुनिश्चित गर्न जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले सुनौलो हजार दिनको अवधि र यसको महत्त्वको विषयमा प्रकाश पार्नु भएको थियोे ।
कार्यक्रम महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष प्रेम कुमारी चौधरीको अध्यक्षता र पालिका अध्यक्ष सुखाडी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सहकारीकि व्यवस्थापक रमा सिंह थारुले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस