२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामको ११ औँ नगरसभा सम्पन्न, स्वास्थ्य नीति र ऐन निर्माण, झरही करिडोर बनाउने निर्णय

२०७९ पौष २८, बिहिबार प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

मोहन पौडेल
परासी, २८ पुस । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको ११ औँ नगरसभा सम्पन्न भएको छ । सभाले रामग्राम नगरपालिकाको स्वास्थ्य नीति र स्वास्थ्य विद्ययेक पारित गर्नुका साथै विभिन्न योजनाको बजेट शंसोधन तथा रकमान्तर गरेको छ ।
रामग्राम नगरपालिकामा यसअघि स्वास्थ्य नीति र स्वास्थ्य ऐन थिएन । सभाले चालु आवमा विनियोजित नगर बस सञ्चालन गर्ने योजनालाई संशोधन गरेर झरही करिडोर निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
रामग्रामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याईएको योजना भएपनि नगर बस सञ्चालनको लागि तत्काल सम्भव नदेखिएकोले उक्त योजनालाई संशोधन गरी परासी बजारलाई बाढीबाट बचाउन बाढी नियन्त्रणको लागि झरही खोला किनारमा तटबन्धसहितको करिडोर निर्माण गर्ने गरी रु एक करोड बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला अदालतको उत्तरतर्फ यसअघि नै नगरपालिकाले बनाएको दैनिक हाटबजारलाई व्यवस्थित गर्न उक्त स्थानमा बहुउद्देश्यीय भवन(सपिङ् कम्प्लेक्स) निर्माण गर्ने योजना थपिएको छ । उक्त योजनाको लागि रु पचास लाख विनियोजन गरिएको छ । भवनको डिपिआर निर्माण भईरहेको नगर प्रमुख यादवले बताउनुभयो ।
नगर प्रमुख यादवको अध्यक्षतामा बुधबार भएको नगर सभामा उपप्रमुख सम्झना चौधरीले चालु आ.व.२०७९।०८० को संशोधित बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो । सभाले नगर स्तरीय योजना, वडा स्तरीय योजना र विषयगत शाखातर्फका कार्यक्रम समेत गरी विभिन्न योजनाबाट रु आठ करोड ९२ लाख सत्तरी हजार २१ घटाएर नपुग हुने सम्बन्धित क्षेत्रकै अन्य योजना थप गरिएको नगर प्रमुख यादवले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
सभामा आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ४ का वडा अध्यक्ष मदन यादवले पेश गरेको विनियोजन ऐन २०७९ लाई संशोधन गर्न बनेको विनियोजन विद्ययेक २०७९ सर्वसम्मतले पारित भएको छ ।
यसैगरी संस्थागत विकास तथा सुशासन समितिका संयोजक एवं वडा नं. १७ का वडा अध्यक्ष कन्है प्रसाद कोईरीले पेश गर्नुभएको रामग्राम नगरपालिकाको स्वास्थ्य सेवालाई व्यवस्थित गर्न बनेको स्वास्थ्य नीति २०७९ र स्वास्थ्य विद्ययेक २०७९ सभाले पारित गरेको छ ।
नगरपालिकाले असारमा योजना सम्पन्न हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यो वर्ष क्यालेण्डर बनाएर योजना कार्यान्वयन गरिरहेको छ । उपभोक्ता समिति मार्फत चैत भित्रै योजना सम्पन्न गरिसक्ने गरी छुट्याईएका ३१८ योजना मध्ये हालसम्म १५० योजना सम्झौता भईसकेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ६० योजना सम्पन्न भई भुक्तानी लगिसकेका छन् भने १६८ योजना सम्झौताको चरणमा रहेका छन् । यस्तै ठेक्कामार्फत सम्पन्न हुने ५८ योजना मध्ये आठ वटा योजना सम्पन्न भई भुक्तानी गरिसकिएको छ भने ५० योजना कार्यान्वयनको चरणमा रहेको खड्काले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस