२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्वास्थ्य कार्यसम्पादनमा बर्दघाट नगरपालिका प्रथम,अन्य पालिका कुन स्थानमा ?

२०७९ आश्विन २, आईतबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

मोहन पौडेल
परासी, २ असोज । स्वास्थ्य क्षेत्रको कार्यसम्पादनको आधारमा पश्चिम नवलपरासीका स्थानीय तहमध्ये बर्दघाट नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले आर्थिक वर्ष २०७८।०७९ मा सम्पादीत स्वास्थ्य सम्बन्धी गतिविधिका मूख्य सूचकहरुको आधारमा मूल्यांकन गर्दा बर्दघाट नगरपालिका पहिलो भएको हो ।
गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना,बजेटको कार्यान्वयन, स्वास्थ्य क्षेत्रमा भएको उपलब्धी,समन्वय र न्यूनतम स्वास्थ्य मापदण्ड लगायत सूचकको आधारमा १०० नम्बरमा मूल्यांकन गर्दा सबैभन्दा बढी बर्दघाट नगरपालिका ७५ दशमलव ०९ अंकका साथ पहिलो भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
गत वर्ष भने बर्दघाट छैँठौँ स्थानमा थियो । पोखरेलका अनुसार सरावल गाउँँपालिका ७४ दशमलव ४८ अंकसहित जिल्लाको दोस्रो स्थानीय तह हुन सफल भएको छ भने प्रतापपुर गाउँपालिका ६८ दशमलव १० अंकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

H2

प्रथम ,द्धितीय र तृतीय हुने स्थानीय तहलाई आज सम्मान पत्र प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीको आयोजनामा आव २०७८।०७९ को जिल्ला स्तरीय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीको समापनको अवसरमा उक्त ग्रेडिङ् गरी सम्मान गरिएको हो ।

H3

स्वास्थ्य क्षेत्रको ग्रेडिङ्मा ६६ दशमलव ४१ अंकसहित रामग्राम नगरपालिका चौँथो, ६६ दशमलव ३९ अंकका साथ सुस्ता गाउँपालिका पाँचौ,६५ दशमलव ८८ अंकका साथ सुनवल नगरपालिका छैँठौँ र ६५ दशमलव ४६ अंकका साथ पाल्हीनन्दन गाउँपालिका सातौँ भएको छ ।
पालिकाले गत वर्ष सम्पादन गरेका राष्ट्रिय खोप कार्यक्रम,पोषण कार्यक्रम, बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम,परिवार नियोजन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, गाउँघर क्लिनिक कार्यक्रम, क्षयरोग निवारण कार्यक्रम, एड्स तथा यौनरोग नियन्त्रण कार्यक्रम, औँलो रोग निवारण कार्यक्रम,उपचारात्मक सेवा कार्यक्रम,स्वास्थ्य व्यवस्थापन कार्यक्रम,अभिलेख तथा रिर्पाेटीङ् अन्र्तगत भएका क्रियाकलापको आधारमा अंकभार दिईएको निर्देशनालयका तथ्यांक अधिकृत पोखरेलले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्य  र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको विशेष आतिथ्यमा उत्कृष्ट पालिकाहरुलाई सम्मान पत्र प्रदान गरिएको हो ।
गत वर्षको मूल्यांकनमा भने रामग्राम नगरपालिका प्रथम भएको थियो भने सरावल गाउँपालिका दोस्रो,सुस्ता गाउँपालिका तेस्रो,प्रतापपुर गाउँपालिका चौँथो,सुनवल नगरपालिका पाँचौँ,बर्दघाट नगरपालिका छैँठौँ र पाल्हीनन्दन गाउँपालिका सातौँ भएका थिए ।
उक्त अवसरमा जिसस प्रमुख यादवले यस प्रकारको मूल्यांकनले पालिका पालिकाबीच कार्यसम्पादनमा प्रतिस्पर्धा भई स्वास्थ्य क्षेत्रका कार्यक्रम र सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरुलाई सुधार गर्दै अझै अब्बल बन्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले मूल्यांकनको नतिजा हेर्दा जिल्लावासीले कम्तीमा आधारभूत तहको स्वास्थ्य सेवा पाउन सफल भएको अनूभुति गरेको बताउनुभयो । उहाँले यसप्रकारले पालिकाहरुबीच कार्यसम्पादनमा प्रतिस्पर्धा हुँदा सेवाप्रवाहमा प्रभावकारीता आउने विश्वास व्यक्त गर्दै पालिकाका जनप्रतिनिधिले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा पूर्ण सहयोग गर्न र आवश्यक बाटो समेत देखाउन जोड दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख पन्थीले समग्र नवलपरासी जिल्लाको स्वास्थ्य कार्यसम्पादन मूल्यांकन गर्दा गत वर्ष लुम्बिनी प्रदेशमा चौँथो स्थानमा रहेको र यसवर्ष सूचकहरु स्तरवृद्धि भएकोले मूल्यांकन मापनमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । पालिकाहरुको स्वास्थ्य क्षेत्रको कार्यसम्पादन बढाउन स्वास्थ्य कार्यालय सहयोग गर्न तयार रहेकोले आगामी दिनमा थप सुधारमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा जिल्लाका सात वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुले पालिकाको स्वास्थ्य क्षेत्रको कार्यसम्पादनको रिर्पाेटीङ् गरेका थिए भने साझेदार संस्थाहरुले पनि आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेको स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।

H4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस