२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सहकारीमार्फत कृषि उपजको बजारीकरण र रोजगारी सिर्जना गर्ने बर्दघाट नगरपालिकाको योजना

२०७९ भाद्र ६, सोमबार प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

मोहन पौडेल
परासी, ६ भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सहकारीमार्फत कृषि उपजको बजारीकरण र रोजगारी सिर्जनाको योजना अघि सारेको छ । त्यसको लागि पहिलो चरणमा नगरमा कृषि उपज संकलन केन्द्र कृषि बजार सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
बर्दघाट नगरपालिकाले आज नगर भित्र सञ्चालित सहकारी संघ संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त योजना अघि सारेको हो ।
नगर भित्रका कृषक र सहकारीले उत्पादन गरेका कृषि उपज तथा अन्य उपभोग्य सामग्रीको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले कृषि बजार सञ्चालन गर्न लागिएको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले जानकारी दिनुभयो । तरकारीलाई प्राथमिकतामा राखेर कृषि बजार तत्कालै सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कृषि बजार सञ्चालनका लागि चिसापानीमा निर्माण हुँदै गरेको कृषि उपज संकलन केन्द्रको भवन तयार नहुँदासम्मको लागि बर्दघाट बसपार्क नजिकै रेडक्रसले निर्माण गरेको भवनलाई उपयोग गरिने उपमेयर उपाध्यायले बताउनुभयो । कृषि बजार सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नगर भित्रकै कृषि वा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई दिइनेछ भने घरभाडा, तरकारी चिस्यान कक्ष निर्माण लगायत नगरपालिकाले व्यवस्थापन गर्न गरी वार्षिक अनुदान दिईने उपाध्यायको भनाई छ ।
यसबाट कृषि उच्पादन वृद्धि हुने, स्थानीय उत्पादनले बजार पाउने र विचौलियाको न्यूनीकरण हुने विश्वास लिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । कृषिको विकासबाट समृद्धि सम्भव भएकोले नगरपालिकाले कृषि विकासलाई उच्च प्राथमिकता दिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले सहकारी परिचालन गरी नगरमा वित्तिय साक्षरता अभियान चलाउने तयारी पनि गरेको छ । विशेषगरी विपन्न वर्गका नागरिकमा वित्तिय साक्षरताको अभावले उनीहरुको आर्थिक उत्थान हुन नसकेकोले विपन्न वर्गको आर्थिक उत्थान गर्न वित्तिय साक्षरता अभियान चलाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यसको लागि विषय विज्ञहरुबाट सुझाव लिई उपयुक्त मोडालिटी तयार गर्ने र प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी अभियान सञ्चालन गर्ने योजना बनाईएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।
नगर भित्रका सहकारी सहकारीबीच आपसी समन्वय सहकार्य,कार्यकुशलता, अनुभव आदानप्रदान गर्दै सहकारीमार्फत उद्यम व्यवसाय सञ्चालन गर्नको लागि नगर स्तरीय सहकारी सञ्जाल पुनःगठन गरिने भएको छ । त्यसको लागि बर्दघाट नगरपालिकाका सहकारी विज्ञ एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई जिम्मेवारी दिईएको छ । ढकालले नगरको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहकारी विज्ञ एवं लुम्बिनी विशिष्टिकृत सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशका अध्यक्ष डा.खगराज शर्माले सहकारीमा वित्तिय साक्षरता, सहकारी बजार तथा कृषि उपज संकलन केन्द्र सञ्चालन तथा व्यवस्थापन, रोजगारमूलक लगानीमा सहकारीको सहभागिता र सहकारीको संजालीकरणको विषयमा सहजीकरण गर्नुभएको थियो ।
उक्त अवसरमा बर्दघाट नगरपालिका आर्थिक विकास समिति प्रमुख कविराज आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष बृहस्पति अधिकारी, पूर्व वडा अध्यक्ष रविन्द्र विक्रम हमाल लगायत स्थानीय सहकारीका प्रतिनिधिहरुले उत्पादनमूलक क्षेत्रमा सहकारीको लगानी, उत्पादीत वस्तुको लागत कम गर्न नगरपालिकाकाले योजना बनाउनुपर्र्ने, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण र उत्पादन गर्ने कृषकले आफ्नो वस्तुको आफैले मूल्य निर्धारण गर्न पाउने अवस्थाको सिर्जना हुनुपर्नेमा जोड दिनुभएको थियो । बर्दघाट नगरपालिकामा नगरले आफै नियमन गर्ने २४ वटा र प्रदेश तथा संघले नियमन गर्ने १४ वटा गरी ३८ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाहरु क्रियाशील रहेको सहकारी शाखा प्रमुख कृष्ण मरासिनीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस