२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा आयुर्वेद उपचारमा आकर्षण बढ्दै

२०७९ भाद्र ४, शनिबार प्रकाशित ( साल अघि) ६२२ पाठक संख्या

 

मोहन पौडेल

परासी, ४ भदौ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्लामा आयुर्वेद उपचार पद्धतिप्रति आकर्षण बढ्दै गएको छ । जिल्ला सदरमुकाम परासीमा एक महीना अघि लुम्बिनी प्रदेश सरकारले नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गरेपछि यहाँ सेवाग्राहीको आकर्षण बढ्दै गएको हो ।

कार्यालय स्थापना भएको एक महीनाको अवधिमै ३०० सेवाग्राहीले सेवा लिएको कार्यालय प्रमुख डा.रमेश केसीले जानकारी दिनुभयो । जनशक्ति र पूर्वाधारको कमीका कारण कार्यालयले अहिले ओपिडी सेवा मात्र दिईरहेको छ ।

बिरामीको निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधी वितरण गर्ने कार्य गरिरहेको यस केन्द्रमा विशेषगरी हाडजोर्नीको समस्या,घुँडाको हड्डी खिएको,ढाडको हड्डी दुख्ने लगयात समस्या लिएर बिरामीहरु धेरै आउने गरेको डा.केसीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “सेवाग्राहीको आकर्षण बढ्दो छ, एक महीनामै ३०० बिरामीले सेवा लिनुभएको छ, दैनिक १५–२० जना बिरामी आउने गर्नुहुन्छ,यहाँको उपचारबाट निको भएपछि बिरामीहरुले नै गाउँगाउँमा प्रचार गर्ने क्रम रहेकोले सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो छ”

आयुर्वेेद चिकित्सा विज्ञान मात्रै नभएर समग्र जीवन पद्धतिसँग जोडिएको र पूर्वीय दर्शनमा आधारित परम्परागत चिकित्सा विज्ञान उपचार पद्धति हो । “हामीले बिरामीहरुलाई औषधी दिएर उपचार गर्नुको साथै समग्र जीवन शैली परिवर्तन गर्न खानपान, व्यायम, दैनिक गतिविधिलाई पनि मध्यनजर गरेर परामर्श सेवा दिने गरेका छौँ,त्यसले गर्दा पनि विरामीको आकर्षण बढी भएको हो”,उहाँले थप्नुभयो, “मोटोपना, मधुमेह दीर्घरोगीका बिरामीलाई परामर्श दिन्छौँ, ज्येष्ठ नागरिकको जीवन सहज बनाउन पनि औषधी तथा परामर्श दिन्छौँ”

सेवा लिने बिरामीको सङ्ख्या बढ्दै जाँदा कार्यालयमा जनशक्ति भने अभाव देखिएको छ । सात जनाको दरबन्दी भएपनि अहिले कार्यालय प्रमुख(चिकित्सक)सहित दुई जना कर्मचारी मात्र कार्यरत हुनुहुन्छ । दरबन्दी अनुसारको जनशक्ति, थप भौतिक पूर्वाधारको व्यवस्था भएमा योग, पञ्चकर्म,पूर्वकर्म,छाडसुत्र सर्जरी सेवा लगायतका सेवा प्रदान गर्न सकिने प्रमुख केसीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस