२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा स्थानीय औँलो रोगीको संख्या शुन्यको अवस्थामा

२०७९ बैशाख १२, सोमबार प्रकाशित ( साल अघि) ५७० पाठक संख्या

मोहन पौडेल
परासी, १२ वैशाख । पश्चिम नवलपरासीमा लगातार दुई वर्षदेखि स्थानीय औँलो रोगीको संख्या शुन्यको अवस्थामा रहेको छ । सन् २०२५ सम्ममा नेपालबाट औँलो रोग निवारण गर्ने लक्ष्य अनुसार विभिन्न कार्यक्रम सञ्चालन भईरहेकोले स्थानीय औँलो रोगीका विरामी नदेखिएको स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
विश्व औँलो रोग दिवसको अवसरमा आज परासीमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यालयले उक्त जानकारी गराएको हो । मलेरिया निरीक्षक देवी पौडेलका अनुसार नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निवारण गरि सक्ने लक्ष्य निर्धारण गरेको छ ।
विश्व स्वास्थ्य संगठनले औलो रोग निवारणको लागि लगातार तिन बर्ष सम्म स्थानीय औँलो रोगीको संख्या शुन्यको अवस्थामा रहनु पर्छ भन्ने मापदण्ड निर्धारण गरेको छ । त्यसै कारण नेपालले पनि सन् २०२५ सम्ममा औलो निवारणको लक्ष्य हासिल गर्नको लागि सन् २०२२ देखि नै स्थानीय औलो रोगीको संख्या शुन्यमा झार्नु पर्ने हुन्छ ।
पश्चिम नवलपरासीमा विगत दुई वर्षदेखि स्थानीय औँलो रोगी देखिएका छैनन् तर आयातित औँलोका रोगी भने चालु आर्थिक वर्षमा एक जना भेटिएको पौडेलले बताउनुभयो । सुनवल नगरपालिकाको वडा नं. ११ मा रोगी फेला परेका हुन् । यसअघि गत आर्थिक वर्षमा सुस्ता एक जना र सुनवलमा दुई जना गरी तीन जना आयातित बिरामी फेला परेका थिए ।
चिकित्सकका अनुसार औँलो रोग एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे संक्रमित हुन्छ। त्यही संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्छ।
स्थानीय रुपमा औलो रोग सार्ने लामखुट्टे नभए पनि समुदायमा बिरामीमा औलो रोग भएमा वा त्यो बिरामी आफ्नो घर छोडी टाढा जाँदाको अवस्थामा संक्रमण भएर आएको अवस्थालाई आयतित औलो भनिन्छ।
यो लामखुट्टेले टोकेको एक साताभित्र रोगको लक्षण देखिन थाल्छ। औलो रोग लागेमा कलेजो, मिर्गौला तथा मस्तिष्क जस्ता अंगमा असर गर्ने र कतिपय अवस्थामा बिरामीको ज्यान समेत जान सक्छ। गर्भवती महिलालाई औलो लागेर समयमा उपचार नभएमा गर्भपतन हुने र आमाको मृत्यु समेत हुन सक्छ। औलोको संक्रमण भएपछि काम ज्वरो आउने, पसिना आउने तथा बेहोस हुने जस्ता मुख्य लक्षण देखिन्छन्। यी लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले आग्रह गरेका छन् ।
रोगको शंका लाग्ने बित्तिकै उपचार भएमा अरुलाई सर्न नपाउने भएकोले सक्दो छिटो उपचारमा ध्यान दिन स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले आग्रह गर्नुभयो । भारतदेखि नेपाल आउने, तराइदेखि पहाडको आवातजावात चलिहरको कारण यी रोग सजिलै हिमाली जिल्लामा समेत फैलिएको हुनसक्ने बताईएको छ । आयतित लामखुट्टेको प्रकोपलाई रोक्न स्वास्थ्य कार्यालयले समुदायमा खोज पड्ताल कार्यक्रम जारी राखेको बताउनुभयो ।
हरेक व्यक्तिको प्रयासले मात्र औलो निवारण सम्भव हुने भएकोले सबै चनाखो हुदैँ सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । औँलोको जाँच र उपचार जिल्लाका सबै स्वास्थ्य संस्थामा निःशुल्क हुने उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस