२०८१ अषाढ ४, सोमबार
24 खबर अपडेट

मौसमको मारमा : मुस्ताङ

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) २७० पाठक संख्या

भोजराज पाण्डेय
धवलागिरी र निलगिरी लगायतका अग्ला गगनचुम्बी हिमाल र वरिपरि अनगिन्ती पहाडहरुले घेरिएर तल खोंचमा बिश्वमै शालिग्रामको लागि प्रख्यात कालिगण्डकीको किनारमा रहेको मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम भौगोलिक र जैबिक बिबिधता एवं पर्यटकीय हिसाबले पनि अन्य जिल्लाहरु भन्दा बिल्कुलै भिन्न छ ।
जोमसोममा बस्ने तथा यहां आउने जो कोहीले पनि पुर्वी र दक्षिणी शीरमा रहेका अग्ला हिमाल तथा वरिपरिको नागबेली पहाड नहेरी धर पाइदैंन् । पुर्वमा जतिबेला हेरे पनि मुसुमुसु हांसिरहेको भान हुने निलगिरी र दक्षिणमा मानापाथी र धवलागिरी हिमालको चुचुरो हेर्दा जो कोही पनि मन्त्रमुघ्ध हुन्छन् ।
बास्तवमा यो प्रकृतिको बरदान नै हो भन्दा पनि हुन्छ ।
पहिले पहिले हिउंद महिनामा जोमसोम भन्दा तल लेते सम्म पनि हिउंले ढपक्कै ढाकिन्थ्यो । हिउं हेर्न जोमसोम पनि पुग्न पर्दैनथ्यो, घासाको फेदीमै बाटो समेत सेताम्मे हुन्थ्यो । अहिले अबस्था फरक छ । पौष महिना सकिन लाग्दा पनि जोमसोमको त कुरै छाडौ, माथि निलगिरी र धवलागिरी हिमालमा समेत हिउं परेको छैन र पर्ने लक्षण पनि देखिएको छैन् । बरु दिउसोको समयमा भएको अस्वभाविक तापक्रमको बृद्धीले माथि हिमालको चुचुरोमा भएको हिंउ समेत पग्लिएर चुचुरो खुइलिदों डाडांको रुपमा परिणत हुंदै गएको छ ।
केहि बर्ष अगाडि सम्म मंसिर महिना लाग्दै गर्दा मुस्ताङ जिल्लाको सबै जसो भागमा हिउं पर्ने हुंदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिसहरु पौष माघ महिनाको जाडो छल्न तल पोखरा तथा काठमाण्डौ लगायतका शहरहरुमा फागुन महिनाको आधाआधी सम्म उतै घुमघाममा रमाउने चलन थियो । यो चलन यधपी कायम पनि छ । यसलाई चलन भन्ने की बाध्यता वा रहर ? पहिले जाडो महिनामा लगातार हिउं पर्ने, बाटोघाटो तथा यातायातको सुबिधा नहुने हुंदा यहांको जनजीवन अत्यन्त कष्टकर हुने भएकोले पोखरा लगायतका शहरहरुमा झर्नै पर्ने बाध्यता थियो ।
हिउंद महिनामा लामो समय हिउ परेको अबस्थामा सवारी साधनहरु पनि नचल्ने हुंदा मानिसहरुलाई खाधान्न समस्या हुन सक्ने भएकोले पोखरा लगायतका शहरहरुमा झर्नु उतिबेला स्वभाविक पनि मानिन्थ्यो । प्रहरी, प्रशासन, सेना र केहि अत्याबस्यक कार्यालयका कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरु तथा मुस्ताङ जिल्लामा बसोबास गर्ने नागरिकहरु जाडो महिनामा जिल्ला छोड्नुलाई पहिले अनौठो पनि मानिदैनथ्यो । तर अहिले पौष महिना सकिनै लाग्दा पनि हिउं पर्नु त कता हो कता जोमसोममा दिउसोको समयमा टन्टलापुर र चर्को घाम लागेको कारण घाममा एकछिन पनि बस्न नसकिने अबस्था छ ।
हिउद महिना सकिनै लाग्दा पनि जोमसोम आसपास रहेका हिमालहरुमा हिउं नपर्नु र हिमालमा भएको हिउं पनि पग्लिएर हिमाल रित्तै हुदै जानुमा सायद जलवायु परिवर्तनको असरको कारण नै होला भन्न सकिन्छ । हिमालमा प्रशस्त हिउ हुंदा त्यता बाट दक्षिण तर्फ बग्ने चिसो हावाको कारण परपर तराई सम्म फागुन र चैत्र महिनामा पनि चिसो अनुभूति हुने गर्दथ्यो । तर यस पालिको अबस्था फरक देखिएको छ ।
हुनत हिउंद अझै सकिएको छैन । माघ फागुन महिनामा पनि पहिले पहिले प्रशस्त हिउं पर्ने गरेको उदाहरण छ । तर नेपाली उखान लगन पछिको पोते के काम ? चरितार्थ हुने देखिन्छ । यदि समयमा हिउ नपर्ने र हिमालमा हिउ नरहने हो भने हिमपातमा आश्रित यहांका स्याउ खेति लगायत प्रमुख नगदेबालीको उत्पादन उल्लेख्य मात्रामा घट्ने निश्चित छ । तसर्थ जलवायु परिवर्तनको बिषय हिमालमा बस्ने मानिसहरुको सरोकारको बिषय मात्र बन्नु हुंदैन् । पहाड र तराईमा बस्ने सबै तह र तप्काका सरोकारवाला तथा आम नागरिकको लागि पनि चिन्ताको बिषय बन्नु आबस्यक देखिन्छ ।
यहांको भौगोलिक बनावट, जैबिक आधार, ताल तलैया, बौद्ध तथा हिन्दू धर्मावलम्बीहरुको धार्मिक आस्थाको रुपमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड तथा शालिग्रामको लागि प्रख्यात काली गण्डकी नदी, प्रसिद्ध लोमान्थाङ दरवार र छोसेर गुम्बा लगायत यहांका प्रमुख पर्यटकीय गन्तब्यहरु हुन ।
हिम श्रृखंला लगायत यी सबै क्षेत्रमा जलवायु परिवर्तनको असर देखिई सकेको छ । काली गण्डकी नदीमा पहिले जस्तो शालिग्राम पाउन छोडेको छ । लोमान्थाङमा राजा नबस्ने र दरवार बन्द रहने हुंदा दरवार हेर्न आउने पर्यटकहरु निरास हुने गरेका छन् ।
पानीको श्रोत सुक्दै गएको छ । बर्षा कम हुने जिल्ला मुस्ताङ हो तापनि यसै बर्षको साउनमा कागबेनीमा आएको बाढीले निम्त्याएको भौतिक बिनास जलवायु परिवर्तनको ज्वलन्त उदाहरण हो भन्न सकिन्छ । सायद सोही कारण हुन सक्छ यो बर्ष कागबेनीमा पितृको सम्झनामा तर्पन तथा श्राद्ध गर्न आउने मानिसहरुको संख्यामा समेत उल्लेख्य कमि आएको छ ।
मुस्ताङ आउने नेपाली तथा बिदेशी पर्यटकको पहिलो रोजाई नै जोमसोम लेते लगायतका स्थानहरु बाट सहजै हिमाल र हिमालमा भएको हिउं देख्नु, हेर्नु र यसको आनन्द लिनु हो । हिमालको उचाई तथा त्यहां देखिने हिउको मनमोहक दृश्य आ–आफ्नो मोबाइल तथा क्यामेरामा कैद गर्दै आनन्दित हुन यहां आउने जो कोही पनि लालायित हुने गर्दछन् ।
हिमालमा हिउं पग्लदै गई त्यसको स्वरुप परिर्वतन भई नाङो खुइलिएको डाडाको रुपमा परिणत भए पछि हिमालमा हिउ हेर्ने मनोकांक्षा बोकि मुस्ताङ आउन चाहाने पर्यटकको रोजाईमा मुस्ताङ नपर्न पनि सक्छ । बास्तवमा भन्ने हो भने मुस्ताङको बिकाशको आधार भनेको नै यहांको पर्यटन हो । नेपाल घुम्न आउने सार्क राष्ट्र लगायतका बिदेशी पर्यटकहरु मध्ये १० प्रतिशत भन्दा बढि मुस्ताङ जिल्लामा घुम्न आउने गर्दछन् । यहा सम्म पुग्ने बाटो सहज भएको कारणले गर्दा पनि होला अहिले नेपाली आन्तरिक पर्यटकहरुको रोजाईमा पनि मुस्ताङ नै पर्ने गरेको छ ।
मुख्य सिजनमा मुस्ताङमा रहेका होटेलहरुले पर्यटकको माग धान्न सकेका छैनन । तसर्थ यो यथार्थतालाई ह्रदयंगम गरि जलवायु परिवर्तन र यसले पारेका असरहरुको बारेमा सरोकारवाला निकायहरु र राज्य तहबाट समेत तत्काल उचित प्रयासको थालनी गरि यसको संरक्षण र प्रवर्धनमा लाग्नु अत्यन्त आबस्यक छ ।
मुस्ताङ जिल्ला पर्यटकीय हिसाबले मात्रै प्रख्यात छैन । धार्मिक र सांस्कृतिक हिसाबले पनि प्रसिद्ध छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको अस्थाको रुपमा रहेको मुक्तिनाथ लगायतका धार्मिक धरोहरहरुको उचित संरक्षण र समय अनुकुल ब्यबस्थित गर्दै लैजानु जरुरी रहेको छ । मुक्तिनाथ मन्दिरको ब्यबस्थापन प्रभावकारी बनाउन र यसको शौन्दर्यतालाई अझै ज्वाजल्यमान बनाउन सबै पक्ष इमान्दारी पुर्वक लाग्न आबस्यक देखिन्छ ।
भारत लगायतका मुलुकमा रहेका धार्मिक धरोहरहरुको शौन्दर्यताको कारण पनि पर्यटक तथा आस्थावानहरुको ती स्थानहरुमा थामि नसक्नु घुइचो लाग्ने गर्दछ । यहांका धार्मिक धरोहरहरुको समयानुकुल मर्मत सम्भार र ब्यवस्थित तथा प्रचार प्रसार गर्न सकेमा उता लाग्ने भीड यता पनि लाग्ने निश्चित छ । यसै जिल्लामा रहेको दामोदर कुण्डको जुन ख्याती र महिमा छ तत् अनुरुपको ब्यबस्थापन हुन सकेको छैन् । त्यहां सम्म पुग्नको लागि सडक सुबिधाको कठिनाईको कारण पैदल यात्रा कष्टकर छ । हेलिकोप्टर यात्रा अत्यन्त महङो रहेको कारण जो कोहीको लागि सहज हुने कुरा पनि भएन् । तसर्थ यसको सहजताको लागि प्रयास भएमा पर्यटनको लागि थप बलियो आधार बन्न सक्छ ।
मुस्ताङ जिल्ला जसरी धार्मिक, जैबिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ, त्यसै गरि खेतिपातिको हिसाबले पनि प्रसिद्ध छ । यहां उत्पादन भएका जुनसुकै बालीहरु काठमाण्डौ लगायतका शहरहरुमा प्रमुख ब्राण्डको रुपमा प्रख्यात रहेका छन् । यहांको प्रमुख नगदे बालीको रुपमा रहेको स्याउ, आलु, ओखर, उवा र फापर खेति रहेका छन् । पशुपालन अन्तरगत चौरी गाई, भेडा, च्याग्रा यहांको प्रमुख नगद आम्दानी श्रोतको रुपमा रहेका छन् । तर जलवायु परिवर्तनको असर यी सबै ब्यवसायमा परेको छ ।
पहिले कोवाङ सम्म प्रयाप्त मात्रामा स्याउ उत्पादन हुने गरेकोमा अहिले जोमसोम नजिक रहेको र स्याउ खेतिको लागि प्रख्यात मार्फामा समेत प्रयाप्त मात्रामा स्याउ उत्पादन हुन छाडेको छ । आलु खेति प्रशस्त हुने भएता पनि कामदारहरुको अभावमा खेति योग्य जमीनहरु बांझै रहने गरेका छन् । उवा र जौ खेतिमा पनि कामदार कै समस्या रहेको छ ।
यहां बसोबास गर्ने मानिसहरुको प्रायजसो होटेल ब्यवसायमा मात्र ध्यान केन्द्रित भएको कारण र प्रसस्त मात्रामा मजदुरी पाउन छाडेकोले गर्दा पनि आलु, उवा र जौ खेति बाली पलायन हुने अबस्था श्रृजना भएको हो । तापक्रम बढ्दै गएको कारण निश्चित तापक्रममा चरन हुने पशु चौपायाहरुमा समस्या देखिन थालेको छ ।
तसर्थ यी सबै समस्याहरुको समाधानको लागि स्थानीय तह, बिभिन्न निकायमा कार्यरत कर्मचारी, मुस्ताङबासी नागरिक र अन्य सम्बन्धित सरोकारवालाहरुले एक चित्त भई कार्य गर्न सकेमा बदलिदो मौसमको अबिछ्छिन्न मारमा परेको मुस्ताङलाई पुन पुरानै अबस्थामा ज्वाजल्यमान बनाउन सकिन्छ ।
लेखक पाण्डे, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस