२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाट नगरपालिका–११ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

२०७८ कार्तिक २६, शुक्रबार प्रकाशित ( साल अघि) १४१२ पाठक संख्या

मोहन पौडेल
परासी, २६ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नं. ११ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । आज उक्त वडाको भगजोगनीमा आयोजित एक समारोहमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि उद्घाटन गर्नुभएको हो ।
पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकालाई यसै वर्ष भित्र नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्ने तयारी रहेको बताउनुभयो । अहिले सम्म १४ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भईसकेको र अव दुई वटा वडामा पनि सूचक पूरा भएकोले केही समयपछि घोषणा गरिने बताउनुभयो ।
घरमा भन्दा स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रेरित गर्दै मातृ तथा नवजात शिशुको मृत्युदरलाई न्यूनीकरण गर्न पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको नगर प्रमुख बस्याले बताउनुभयो । वडा भित्रका कुनै पनि सुत्केरी घरमा सुत्केरी नभई स्वास्थ्य संस्थामै सुत्केरी भएको सर्भेक्षणको आधारमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन यो अभियान सार्थक हुने बताउँदै नगर प्रमुख बस्यालले घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने नगरपालिकाको अभियान अन्र्तगत अहिले सम्म नगरपालिका भित्र चार वटा वर्थिङ सेन्टर रहेको र थप एउटा वर्थिङ सेन्टर स्थापना गरिने बताउनुभयो ।
नगर उपप्रमुख मायादेवी पौडेलले नगरवासीलाई स्वास्थ्य सेवाको सहज पहुँचमा पुर्याउन नगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमालाई नगपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप रु पाँच हजार उपलब्ध गराउँदै आएको बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य नीति तथा बर्दघाट नगरपालिकाको कार्यक्रम अनुसार आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी गराई आमा र नवजात शिशु मृत्युदरलाई कम गराउन पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सम्पूर्ण सूचक पूर्ण भएको सुनिश्चितता पश्चात घोषणा गरिएको पञ्चनगर स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनुभयो ।
स्वयमसेविका परिचालन गरी सर्वेक्षण गर्दा पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि आवश्यक सूचक पूरा भएकोे र गत वर्ष सुत्केरी भएका ५२ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको पाईएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्नुका साथै वडाका जनप्रतिनिधिहरुको तर्फबाट तीन जना स्वयमसेविकालाई साईकल वितरण गरिएको बर्दघाट–११ का वडाध्यक्ष तीर्थराज थारुले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस