२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीमा समुदायमा सङ्क्रमणको अवस्था पहिचान गर्न सेवाग्राहीको एन्टिजिन परीक्षण अभियान

२०७८ भाद्र ९, बुधबार प्रकाशित ( साल अघि) १२१० पाठक संख्या

मोहन पौडेल
परासी,९ भदौ । समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्था पहिचानका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) मा एन्टिजिन परीक्षण अभियान शुरु भएको छ ।
आजदेखि शुरु गरिएको अभियान अन्तरगत जिल्लामा नागरिकको धेरै भीडभाड हुने जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा आउने सेवाग्राहीलाई एन्टिजिन परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
आज जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा आएका पाँच सय बढी सेवाग्राहीको एन्टिजिन परीक्षण गरिएको कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसअघि शङ्कास्पद व्यक्तिलाई मात्र परीक्षण गर्दै आएकोमा समुदायमा कोभिड सङ्क्रमणको अवस्था र फैलावट पहिचान गर्न आम नागरिकलाई पनि परीक्षण शुरु गरेको उहाँले बताउनुभयो ।
यो विधि अन्तर्गत नाकबाट स्वाब सङ्कलन गरेर र किटमा राखेर पन्ध्र मिनेटमै रिपोर्ट दिने गरिएको छ । एन्टिजिन परीक्षण गरिसकेपछि पीसीआर परीक्षण गर्न नपर्ने पनि भन्दै उहाँले जिल्लाका सातै स्थानीय तहमा एक हप्तासम्म यो परीक्षण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
सेवाग्राही जिल्लाका विभिन्न स्थानबाट छरिएर आउने भएकोले एकैपटक समुदायमा परीक्षण गर्दा नमूनाको रुपमा जिल्लाको सङ्क्रमण दरको अवस्था जानकारी हुने कार्यालयले जनाएको छ ।
पछिल्लो पटक जिल्लामा कोभिड सङ्क्रमण न्यून छ । रामग्राम,सुनवल र बर्दघाट नगरपालिकामा नियमित रुपमा परीक्षण भईरहेको तर पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा परीक्षण शून्य रहेकोले पनि परीक्षणको दायरा बढाउन आवश्यक देखिएको स्वास्थ्य कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।
अभियानपछि प्राप्त हुने नतिजाले आगामी दिनमा विद्यालय, हाटबजार लगायत धेरै भीडभाड हुने स्थान सञ्चालन गर्न दिने वा नदिने र निषेधाज्ञालाई कुन प्रकारले अघि बढाउने भन्ने विषयमा निर्णय लिन मार्गदर्शन गर्ने पोखरेलको भनाई छ । जिल्लामा हाल ११० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस