२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बाली बीमा कृषकमैत्री नभएको केरा कृषकको गुनासो

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित ( साल अघि) १३०३ पाठक संख्या

मोहन पौडेल
परासी, ४ भदौ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का केरा उत्पादक कृषकहरुले बाली बीमा कृषकमैत्री नभएको गुनासो गरेका छन् । कृषि बीमा कृषकमैत्री नभएको भन्दै जिल्लाका कुनै पनि कृषकले अहिलेसम्म केराको बीमा गरेका छैनन् ।
कृषि बीमामा गरिएको हालको व्यवस्थाले कृषकको लगानी सुरक्षित नहुने भएकोले बीमामा कृषक आकर्षित हुन नसकेको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष अख्खु यादव बताउनुहुन्छ । “बाली बीमाबाट कृषकले सुविधा लिने हो, तर सरकारले गरेको हालको व्यवस्था व्यवहारिक छैन्, किसानको उन्नति नै हुँदैन्,परिमार्जन आवश्यक छ”, उहाँले भन्नुभयो ।
बीमा नीतिमा गरिएको व्यवस्था अनुसार केराको लागत प्रति बोट रु १५ र प्रति हेक्टर १२०० बोट अर्थात प्रति कठ््ठा ४८ देखि ५४ बोट हुनुपर्ने उल्लेख छ । तर यो व्यवस्थाले यहाँका कृषकलाई लाभ नहुने केरा उत्पादक कृषक बताउँछन् । कृषकका अनुसार यहाँ गरिने खेतीमा नीतिमा तोकिएको लागत खर्च र केराको बोटको सङ्ख्या भन्दा बढी उत्पादन हुने गरेको छ ।
सङ्घका अनुसार यहाँ गरिने केराखेतीमा प्रति बोटको लागत खर्च रु २९० देखि रु ३०० सम्म हुने गरेको छ भने प्रति कठ्ठा १०० देखि १२० बोट लगाउने गरिएको छ । यसले गर्दा सरकारले तोकेको व्यवस्था अनुसार बीमा गर्दा कृषकलाई घाटा हुने भएकोले बीमा गर्न कठिनाई भएको सङ्घका अध्यक्ष यादवले बताउनुभयो ।
सरकारले हालको दररेट परिमार्जन गरी नयाँ निर्धारण नगरेसम्म बीमाको समस्या समाधान हुन नसक्ने उहाँ बताउनुहुन्छ । यहाँका कृषकले एक हेक्टरमा ३००० देखि ३२०० सम्म बिरुवा लगाउने गरेका छन् ।
बीमा नीतिमा गरिएको व्यवस्था अनुसार प्रति हेक्टरमा जम्मा १२०० बिरुवाको बीमा हुन्छ । अहिलेको नीतिले कृषकले लगाएको बाँकी १८०० बिरुवाको बीमा हुन नसक्ने भएकोले कृषकलाई घाटा हुने उहाँको भनाई छ । यसबारेमा सरोकारवाला निकायमा माग राख्दै आएपनि सम्बोधन हुन नसकेको केरा कृषकको गुनासो छ ।
बीमा गर्न नपाउँदा यहाँका कृषकले वर्षेनी लाखौँको केरा क्षति व्यहोर्नुपरेको छ । असिना पानी लगायत दैवी प्रकोप, किरा तथा विभिन्न रोग र व्यक्तिगत रिसिबीका कारण केरा नष्ट गरिदिने प्रवृत्तिले केरा कृषक समस्यामा छन् ।
कृषकको लगानी सुरक्षित महशुस गराउन बीमा नीति परिमार्जन गर्न आवश्यक रहेको र त्यसका लागि विज्ञ टोली गठन गर्नुपर्ने सङ्घका अध्यक्ष यादव माग गर्नुहुन्छ । “नयाँ रेट निर्धारण गर्दा केरा उत्पादक कृषक, कृषकको सङ्गठन तथा अन्य सरोकार पक्षहरुसँग प्रत्यक्ष छलफल र सुझाव लिएर मात्र मूल्य निर्धारण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
लागत खर्च घटाउने र उत्पादनबाट प्रतिफल मिल्ने गरी कृषकले बीमाबाट लाभ लिन सकेका छैनन् । बाली बीमामा केराको बोट मरेको, भाँचिएको भएमात्र बीमा दाबी गर्न मिल्ने प्रावधान छ ।
कतिपय अवस्थामा मौसम प्रतिकूलताले केराको बोट नमरे पनि उत्पादनमा ह्रास आउँदा बीमा दावी गर्न मिल्दैन । यसका लागि पनि बालीको अवस्था अनुसार बीमा नीति हुनुपर्ने कृषकहरुको माग छ । बाली बीमामा देखिएका अव्यवहारिकता र झण्झटिलो प्रक्रिया हटाएर कृषकमैत्री बीमा नीति बनाई कृषकलाई बीमामा आकर्षित गर्न जिल्लाका कृषकले माग गर्दै आएका छन् ।
लागत खर्च र सङ्ख्या नमिल्दा जिल्लाका केरा कृषकले बीमा गर्न नसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्राले बताउनुभयो । बीमा नीतिमा कृषकको माग अनुसार परिमार्जन गर्न कार्यालयले विभागलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
नवलपरासीको सुस्ता, प्रतापपर र सरावल गाउँपालिकामा धेरै मात्रामा केराखेती हुने गरेको छ । उखुको पकेट क्षेत्रको रुपमा ख्याती कमाएको उक्त क्षेत्रमा वर्षाैैँसम्म भुक्तानीको समस्या झेल्नुपरेपछि पछिल्लो पटक अधिकांश कृषक केराखेतीतर्फ आकर्षित भएका हुन् ।
नवलपरासी केरा उत्पादक सङ्घका अनुसार हाल जिल्लामा दुई हजार ५०० विघाहामा व्यवसायिक रुपमा केराखेती हुँदै आएको छ भने एक हजार २०० बढी कृषकले व्यवसायिक केराखेती गर्दै आएका छन् । यहाँको केरा बुटवल, नारायणगढ, काठमाडौँ, पोखरा, दाङ, नुवाकोट लगायतका जिल्लामा बिक्री हुने गरेको सङ्घले जनाएको छ । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस