

मोहन पौडेल
परासी, ३० चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका भित्र निर्माण हुने सार्वजनिक तथा निजी संरचना भूकम्प प्रतिरोधी तथा अपांगमैत्री बनाउने उद्देश्यले निर्माण व्यवसायी तथा श्रमिकहरुलाई भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री भवन निर्माण सम्बन्धी एक हप्ते तालिम प्रदान गरेको छ ।
आइडियल इन्जिनियरिङ सर्भिसेज प्रालि रामग्रामको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । १८ गते आयोजित अभिमुखिकरण कार्यक्रमसहित २४ गतेदेखि औपचारिक रूपमा सुरु भएको तालिम सोमबार समापन गरिएको हो ।
तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यस प्रकारको तालिमले स्थानीय निर्माण क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने विश्वास गरिएको बताउनुभयो । तालिमपछि मिस्त्री तथा श्रमिकहरूमा सुरक्षित भवन निर्माणप्रति सचेतना बढ्नुका साथै भूकम्पबाट हुने सम्भावित क्षति न्यूनीकरणमा योगदान पुग्ने तथा अपाङ्गमैत्री संरचना निर्माणको ज्ञानले समावेशी विकासलाई थप बल पु¥याउने उहाँले उल्लेख गर्नुभयो ।
“नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा सुरक्षित र गुणस्तरीय भवन निर्माण अत्यन्त आवश्यक छ” उहाँले भन्नुभयो, “यस तालिमले स्थानीय स्तरमै दक्ष जनशक्ति तयार पार्नेछ, जसले भविष्यमा सुरक्षित र दीगो संरचना निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ,हामी यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”
स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुँदा बाह्य प्राविधिकमा निर्भरता घट्ने, निर्माण लागतमा पारदर्शिता आउने तथा दीगो र सुरक्षित संरचना निर्माणमा टेवा पुग्ने अध्यक्ष चौधरीको भनाइ थियो । तालिममा ६० जना निर्माण व्यवसायी, मिस्त्री तथा श्रमिकहरूको सहभागिता रहेको थियो।

सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमार्फत भवन निर्माणका आधुनिक, सुरक्षित तथा समावेशी प्रविधिहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। विशेषगरी भूकम्प प्रतिरोधी संरचना निर्माणका आधारभूत मापदण्ड, सामग्रीको सही प्रयोग, संरचनात्मक मजबुती तथा अपाङ्गमैत्री डिजाइनका उपायहरूबारे गहन प्रशिक्षण दिइएको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो ।
इन्जिनियरहरू अरुण अर्याल र अजय यादवसहित गाउँपालिकाको पूर्वाधार विकास शाखाका इन्जिनियर तथा सब–इन्जिनियरहरूले सहजीकरण गरेको तालिममा सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत सिकेका सीपहरू व्यवहारमा उतार्ने अवसर पाएका थिए। तालिमका प्रशिक्षार्थी धनबहादुर श्रेष्ठ, रामबहादुर विक लगायतले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै सिकेका सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरुले अब निर्माण कार्य गर्दा नयाँ प्रविधि र मापदण्डलाई अपनाउने बताउनुभयो ।

