

मोहन पौडेल
परासी, २२ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका महिलाहरु जलवायु परिवर्तन र यसले स्वास्थ्यमा पार्ने असरका बारेमा सचेत हुन थालेका छन् । क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीद्धारा सञ्चालित स्थानीय नवप्रवर्तन कोष परियोजनाले समुदायमा महिला नेतृत्वमार्फत जलवायु र स्वास्थ्य सचेतनाको नयाँ लहर सिर्जना गरेको हो ।
रामग्राम नगरपालिका वडा नं. १२ र १४ तथा सरावल गाउँपालिका वडा नं. २ मा महिला जलवायु तथा स्वास्थ्य समूह गठन गरी तीन समूह सक्रिय बनाइएका छन्। यी समूहहरूले नियमित बैठक, सरसफाइ अभियान, अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै समुदायमा प्रत्यक्ष परिवर्तनको संकेत देखाएका छन्।

नोभेम्बर २०२५ देखि १ अप्रिल २०२६ सम्म सञ्चालन भएको परियोजनाले विशेषगरी जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे स्थानीय तहमा सचेतना बढाउने, महिलाको नेतृत्व विकास गर्ने र नवप्रवर्तनयुक्त स्थानीय गतिविधि प्रवद्र्धन गर्ने लक्ष्य लिएको थियो।
परियोजनाअन्तर्गत सञ्चालन गरिएका सरसफाइ अभियानहरूले सार्वजनिक स्थान, सडक तथा खानेपानीका स्रोतहरू सफा राख्न समुदायलाई प्रेरित गरेको परियोजनाका संयोजक गोकर्ण श्रेष्ठले जानकारी दिनुभयो । हात धुने बानी, सुरक्षित पानीको प्रयोग र फोहोर व्यवस्थापनजस्ता व्यवहारमा सुधार ल्याउन समेत महत्त्वपूर्ण योगदान पुगेको देखिएको छ।

अभिमुखीकरण तथा तालिममार्फत सहभागी महिलाहरूलाई जलवायु परिवर्तन र स्वास्थ्यबीचको सम्बन्ध, डेंगु, झाडापखाला, दूषित पानी, अत्यधिक गर्मी तथा बाढीजस्ता समस्याबारे जानकारी दिइएको थियो। साथै, जोखिम न्यूनीकरणका उपाय र विपद्का बेला अपनाउनुपर्ने सावधानीबारे समेत प्रशिक्षण प्रदान गरिएको थियो।
यसका साथै, नेतृत्व विकास, समूह परिचालन, निर्णय प्रक्रिया र समुदायमा समन्वयका विषयमा गरिएको अभिमुखीकरणले महिलाहरूलाई आत्मनिर्भर र सशक्त बनाएको छ। उनीहरूले अब आफ्नै समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

परियोजनाले स्थानीय स्रोतसाधनको उपयोग, विद्यालय तथा स्वास्थ्य संस्थासँग सहकार्य र सामूहिक पहलमार्फत दिगो विकासको आधार तयार गरेको नेपाल रेडक्रस सोसाइटी नवलपरासीका सभापति राजेन्द्र प्रसाद अग्रहरीले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा पनि महिला नेतृत्व, नवप्रवर्तन र जलवायु–स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै यस्ता गतिविधिलाई निरन्तरता दिइने छ ।

