

परासी, ८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेबाट नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेलको घरदैलो अभियान तीव्र बनेको छ।
गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै खरेलले विकास र स्थायित्वका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
शुक्रबार सुनवलको पहाडी क्षेत्र महलपोखरीमा घरदैलोका क्रममा स्थानीय मतदाताले समेत “देश बनाउने पार्टी एमाले भएकाले खरेललाई जिताउनुपर्छ” भन्ने धारणा व्यक्त गरेका थिए ।

सडक, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता खरेलले दोहोर्याउँदै आफू निर्वाचित भए क्षेत्रको समग्र विकासमा केन्द्रित हुने बताउनुभयो ।
खरेलले विगतमा एमाले नेतृत्वमा भएका विकास निर्माणका कामको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा थप योजनाबद्ध रूपमा काम गर्ने दाबी गर्नुभयो । “राजनीतिक स्थिरता र विकासका लागि एमाले आवश्यक छ,” उहाँले भन्नुभयो ।
मतदातासँगको भेटघाटमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको अभियान टोलीले जनाएको छ।